खोटो बिक्रीबाट करोडौँ आम्दानी

प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

रोल्पा, २० पुस । खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिक रूपमा करोडौँ आम्दानी गर्ने गरेका छन् ।

जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुई सयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै आएको सहायक वन अधिकृत भीम कालीकोटेले जानकारी दिए ।

जिल्लाका विभिन्न ६ स्थानमा रोजिन एन्ड टर्पेन्टाइन कम्पनीले संकलनको काम गरि रहेका छन् । संकलित खोटो प्रतिकिलो रु १० का दरले खरिद गर्नुका साथै स्थानीय रूपमा रोजगारीसमेत सिर्जना भएको बताइएको छ । सामुदायिक वनको क्षेत्रफल हेरेर वार्षिक रूपमा न्यूनतम रु २५ हजारदेखि अधिकतम रु दुई लाखसम्म आम्दानी गर्ने गरेको कालीकोटेले बताए ।

यसरी खोटो संकलनबाट मात्र जिल्लाका सबै सामुदायिक वनको आम्दानी जोड्दा करोडौँ  हुने गर्दछ । प्राप्त आम्दानीमध्ये सामुदायिक वनले वन विकास, सामुदायिक विकास, आयआर्जनका क्रियाकलापमा खर्च गर्ने गरेको सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष नीमकुमारी सिंहले जानकारी दिए ।

यसबाट प्राविधिक रूपमा बढी तेजाब प्रयोग भएका रूखमा असर देखिने बाहेक अन्य कुनै असर नहुने जिल्ला वन कार्यालय रोल्पाले बताएको छ । खोटो निकालिएको वन क्षेत्रमा आगलागीको जोखिम अलि बढी हुने भएकाले उपभोक्ता सचेत हुनुपर्ने बताइएको छ । (अपडेट)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट