तिनाउ नदीको पक्की पुल मर्मत सुरु

प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

बुटवल, २० पुस । देशकै प्रमुख पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवलस्थित तिनाउ नदीको पक्की पुलको मर्मत सम्भार सुरु भएको छ ।

बुटवललाई पश्चिम नेपालसँग जोडने महत्वपूर्ण तिनाउ पुलको सतह भत्केर छियाछिया भएको महिनौँसम्म पनि जीर्ण अवस्थामा रहेको थियो ।

पुलको मर्मत सम्भार भएपछि पूर्व–पश्चिम सञ्चालन हुने सवारी साधन र यात्रुले अब राहत पाउने छन् । दैनिक करिब १० हजार साना ठूला सवारी साधन वारपार गर्ने तिनाउ पुल सवारी साधन र यात्रु दुबैका लागि धराप बन्दै गएको थियो ।

पुलको सतह भत्केर सयौँ खाल्डा बनेको र ढलान गर्दाका बखतका फलामे छड तथा सरिया बाहिरै निस्केकाले पुल जोखिमयुक्त बनेको हो ।

पुल मर्मत तथा सम्भारमा सहजताको वातावरण निर्माण गर्न सडक डिभिजन कार्यालय बुटवलले पुल मर्मत अवधिभरका लागि यातायातलाई एकतर्फी रुपमा सञ्चालन गरिरहेको छ ।

सडक कार्यालयका अनुसार तिनाउ पुल भएर बुटवलबाट पश्चिमतर्फ जाने सवारी साधन तिनाउ पुलबाटै एकतर्फि सञ्चालन हुने व्यवस्था मिलाइएको र पश्चिमबाट बुटवलतर्फ जाने सम्पूर्ण सवारी साधन बेलवास पुल हुँदै तिनाउ डाइभर्सनबाट देवीनगर हुँदै आउने व्यवस्था मिलाइएको छ ।

आवश्यक जनशक्ति र मेसिन प्रयोग गरी तीव्रताका साथ पुलको सतह पिच गर्ने कार्य भइरहेकाले पाँच दिनभित्रै पुल तयार हुने डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीले जानकारी गराए । यसको काम सम्पन्न गर्नका लागि झन्डै रु ३५ लाख लागत अनुमान गरिएको उनले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट