आँखा छोपेर दृष्टिविहीनको अनुभूति गरेपछि…

प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

पोखरा, २० पुस । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई आज पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवं सर्वसाधारणले केही समय भए पनि अनुभूति गरेका छन् ।

विश्व ‘ब्रेल दिवस तथा २०८ औँ लुइब्रेल’ जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा यहाँ आयोजित अँध्यारो यात्राका सहभागीले आँखा छोपेर सेतो छडीको सहारामा हिँडदा त्यस्तो अनुभूति गरेका हुन ।

पोखराको मानवअधिकार चोकबाट सुरु भएको अँध्यारो यात्रा चिप्लेढुङ्गस्थित बीपी चोक परिक्रमा गरेर पुनः सोही चोकमा आइपुग्न लगभग एक घन्टा लागेको थियो भने यात्राका सहभागीले निक्कै अप्ठेरो अनुभूति गरेको दृश्य देखिन्थ्यो ।

सडकमा देखिने सेतो छडी बोकेका दृष्टिविहीनको व्यथालाई आँखा देख्नेको अन्तरआत्माबाट बुझन र सहयोगी भावनाको विकास गर्ने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक सुष्मा पौडेलले बताए ।

उनका अनुसार पोखराका सडक, सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका साधनलगायत विभिन्न भौतिक संरचना र व्यवहारसमेत अपाङ्गमैत्री हुनसक्दा समाजका शारीरिक एवं मानसिक अपाङ्गले कष्टकर जीवन जीउन बाध्य रहेका छन् ।

कार्यक्रमका सहभागीले एक हजार रुपैयाँ सहयोग गरेपछि सेतो छडी र आँखा छोप्नेपट्टी प्राप्त गर्ने व्यवस्था गरिएको बताउँदै उनी भन्छन्–’कार्यक्रमबाट बचेको ६२ हजार रुपैयाँ नेत्रहीन सङ्घ कास्कीलाई अक्षयकोष स्थापना गर्नका लागि सोही कार्यक्रममा हस्तान्तरण गरिएको छ ।’

सरकारी कार्यालयमा आउँदा दृष्टिविहीनको भोगाई कस्तो हुन्छ भन्ने आफूले पहिलो पटक अनुभूति गर्ने मौका पाएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले बताए । ‘प्रत्येक सरकारी कार्यालयका कर्मचारीलाई समेत यस्ता कार्यक्रममा सहभागी गराउनु आवश्यक छ,’ उनले भने ।

सोही कार्यक्रममा कास्की जिल्लाबाट पहिलो प्रवेशिका परीक्षा उत्तीर्ण गर्ने दृष्टिविहीन विद्यार्थी विष्णुमाया विकलाई सम्मान गरिएको थियो । उनलाई पाँच हजार नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो ।

दृष्टिविहीनको वास्तविकतालाई समाजमा छर्लङ्ग पार्ने सन्देशमूलक कार्यक्रमलाई मुलुक र संसद समक्ष पुर्याउन पहल गरिने राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सचिवालय सदस्य शिशिर खनालले बताए ।

फ्रान्सका लुइब्रेलले प्रतिपादन गरेको ब्रेनलिपी विश्वका दृष्टिविहीनको एउटै भाषा बनेको भए पनि नेपालमा एकदशक अगाडि मात्र भित्रिएको दृष्टिविहीन श्रीकान्त सापकोटाको भनाइ छ ।

नेत्रहीन सङ्घ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार सोही कार्यक्रममा बर–पिपल प्लास्टिक स्टोर्सका सञ्चालक हरिप्रसाद सिलवालले सङ्घलाई रु १० हजार नगद आर्थिक सहयोग गर्नुभएको थियो ।

विश्व ब्रेन दिवसको अवसरमा नेत्रविहीन सङ्घ कास्कीद्वारा आयोजित दृष्टिविहीन अन्तर्गत भएको निबन्ध प्रतियोगितामा अमरसिंह उच्च माविका अञ्जन बस्ताकोटी र सङ्गीता कुँवर तथा जनप्रकाश उच्च माविका सुष्मा तामाङ क्रमश प्रथम, द्धितीय र तृतीय भएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट