नेपाली दम्पतीले गरे अमरको उपचारमा सहयोग

प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

जाजरकोट, २० पुस । उपचारको अभावमा १७ वर्षदेखि थला परेका जाजरकोट सुकुम्वासी परिवारका अमर आग्रीको आर्थिक अभावका कारण उपचार हुन नसकेको खबर सार्वजनिक भएपछि बेलायतमा रहेका नेपाली दम्पतीले रु २० हजार सहयोग गरेका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मंगलबार सो रकम  परिवारलाई हस्तान्तरण गरे ।

म्याग्दी घर भई बेलायतमा बस्ने खेम शेरचन र गीता गिरी शेरचनले अमरलाई उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरेको बताएका छन् ।
जन्मेदेखि नै हातखुट्टा नचल्ने, कान नसुन्ने र बोल्न नसक्ने अमर १७ वर्षदेखि ओछ्यानमा थला परेका छन् । परिवारका सदस्यले अमरलाई खाना र दिसापिसाब गर्ने समयमा ध्यान नदिए उनी आफ्नै ओछ्यानमा दिसापिसाबसँगै पल्टिरहेका हुन्छन् ।

उनको हेरचाह बाबुआमाले गर्दै आएकामा आमाको मृत्युपछि झन् समस्यामा परेका छन् । उनलाई दैनिक खुवाउने खाना पनि झिँगाले फोहरैफोहर बनाएको हुन्छ । अरूको सहारामा खाना खाने अमरले भोक लाग्दा खाना र तिर्खा लाग्दा पानी समयमा पाउन सक्दैनन् ।
अमरका बाबु जने आग्रीले आर्थिक अभावमा अमरलाई धामीझाँक्रीबाहेक उपचारमा अन्यत्र कतै लैजान नसकेको बताए ।

अमरसहित घरमा जनेका चार छोरा र पाँच छोरी छन् । जनेको परिवार सार्वजनिक ठाउँमा खरले छाएको सानो टहरोमा बसिरहेका छन् । जनेले सरकारले वितरण गरेको हलिया परिचयपत्र पाएका छन् तर सरकारी सहयोग पाउन सकेका छैनन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट