बाटोमै बसेर भारुको अवैध कारोबार

प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

झापा, २० पुस । भारतले नोटबन्दी गरेयता झापाको सीमावर्ती क्षेत्रमा भारुको अवैध कारोबार अझ मौलाएको छ ।

नेपाल राष्ट्र बैंकले भारतीय नोटको विनिमय दर रु एक सयको रु एकसय साठी रुपैयाँ १५ पैसा कायम गरेको छ । तर, यहाँका सीमावर्ती क्षेत्रमा सञ्चालित मनी चेन्जरले भारु सयको एकसय ७८ देखि रु एकसय ९० सम्म नेपाली रुपैयाँ लिने गरेका छन् । अझ बाटोमै बसेर भारुको अवैध कारोबार गर्नेले त भारु सयको दुई सय रुपैयाँसम्म लिने गरेका छन् । किन यति धेरै विनियम दर भनेर मनी चेन्जर सञ्चालकलाई प्रश्न गर्दा ‘यस्तै छ’ भन्ने गरेका छन् ।

भारतको सीमावर्ती बजार गलगलिया, पानीट्याङ्की, नक्सलबाडी लगायतका बजारमा किनमेलका लागि यहाँका सर्वसाधारण जाने गरेका छन् । भारु सटहीको मार नेपाली मात्र नभई भारतीय नागरिकलाई समेत परेको छ । नेपाल घुमफिरका लागि भारतको दिल्लीबाट आएका दिवाकर सेट्टीले भारु साट्न समस्या भएको सुनाए । उनले भने, “एक हजार नेपाली रुपैयाँको पाँचसय मात्र भारु दिने भन्छन्, के गर्नु समस्यामा परेको छु ।”

नेपाल राष्ट्र बैंकको भद्रपुर शाखा र काँकरभिट्टा शाखाले दैनिक रु तीनलाख भारु बाँड्ने गरे पनि त्यो पर्याप्त भएको छैन । बैंकमा घन्टौँसम्म लाइन लागेर पनि ग्राहकले भारु पाउन सकेका छैनन् ।

भारुको कारोबार गर्नेले पानीट्याङ्कीमा नेपाली उपभोक्ताले खर्च गरेको पैसा पसलबाट संकलन गरी पुनः काँकरभिट्टा नाकामा ल्याएर बेच्ने गरेका छन् । यसरी संकलन गरेको रकम कारोबारीको हातमा आउने र पुनः महँगोमा बेच्ने गरेकाले नेपाली उपभोक्ता दोहोरो मारमा परेका छन् ।

“पहिले त रु एक हजार साट्दा ५०-६० रुपैयाँ बढी दिँदा पाइन्थ्यो”, किनमेलका लागि गलगलिया जान लागेकी भद्रपुरकी संगीता पौडेलले भनिन्, “यसो दुई-चार पैसा सस्तोमा चिनी, तेल पाइन्छ भनेर पैसा साट्न आएको, एक हजार भारुको एकहजार आठसय पो भन्छन् रु” उनले नियामक निकायले चासो नदिँदा सर्वसाधारण जहिल्यै पनि मारमा पर्ने गरेको बताइन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट