संसारले सम्झिरहने महान क्रान्ति नायक : क्यास्ट्रो

प्रकाशित मिति: १२ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौँ, १२ पुस । ९० वर्षको उमेरमा क्युबाका पूर्वराष्ट्रपति तथा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोकोे २६ नोभेम्बर, २०१६ का दिन शुक्रबार निधन भयो । क्यास्ट्रोका पिता स्पेनबाट बसाइ सर्दै आएर पूर्वीक्युबाको चर्चित चिनी उत्पादन क्षेत्रमा बसोबास गर्ने आप्रवासी थिए ।

सुरुसुरुमा अमेरिकी चिनी उत्पादक कम्पनीहरुलाई श्रमिक आपूर्ति गर्ने ठेकेदारी काम गर्दै पैसा कमाएपछि आफैँले ठूलो लगानीमा उखुको खेती गर्ने र चिनी उत्पादन गर्ने कारखाना खोली उत्पादित चिनी अमेरिका निर्यात गर्ने उद्योग ब्यबसाय चलाएका थिए फिडेलका पिताले ।
सन् १९२६ को अगस्ट १३ का दिन जन्मिएका स्वर्गीय क्यास्ट्रोका पूरा नाम फिडेल क्यास्ट्रो रुज हो । क्रिश्चियन धर्म अध्यापन गरिने विद्यालय जेसुइट स्कूलबाट प्रारम्भिक शिक्षा सुरु गरेका स्वर्गीय क्यास्ट्रो हवाना विश्वविद्यालयबाट कानून र समाज विज्ञान विषयमा स्नातकोत्तर उपाधिले बिभूषित थिए ।

उनले करिब आधा शताब्दिसम्म अबिच्छिन्न शासनको बागडोर सम्हालेको र क्युबामा तत्कालीन सोभियत संघ शैलीको समाजवादी (अर्को शब्दमा साम्यवादी) शासन प्रणाली लागू गरेका र आफ्नो शासनकालभरी १० जना अमेरिकी राष्ट्रपतिसँग कडा टक्कर लिँदै उनीहरुको जमेर निन्दासमेत गरेका थिए । उनका भाइ, वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले सरकारी टेलिभिजन प्रसारणमा थर्थराएको स्वरमा सम्बोधन गर्दै उनको निधन भएको पुष्टि गरेका थिए । सम्बोधनको अन्त्यमा राष्ट्रपति राउलले स्वर्गीय जेठो दाजुलाई स्मरण गर्दै भावविह्वल भएर विगतको क्युबाली क्रान्तिका समयमा समूहमा गाइने गरेको बहुचर्चित ‘टुवार्ड भिक्टोरी अल्वेज’ शीर्षकको क्रान्तिगान ठूलो स्वरमा कराउँदै गाएका थिए ।

संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यबाट दक्षिणतर्फ १ सय ४५ किलोमिटर मात्र टाढा रहेको द्वीपीय राष्ट्र क्युबाले स्वर्गीय राष्ट्रपति क्यास्ट्रोको शासनकालका विभिन्न समयमा धेरै पटक जनबिद्रोह बेहोर्नुपरेको थियो । यीमध्ये, अमेरिका समर्थित सन् १९६१ को ‘वे अफ पिग्स इन्भेजन’ र त्यसको १ वर्षपछि भएको क्युबाली क्षेप्यास्त्र संकट ‘क्युबान मिसाइल क्राइसिस’ ले सम्पूर्ण विश्वलाइ नै आणविक युद्धको भुवँरीभित्र धकेल्न खोजेका थिए । जहिले पनि लामालामा दाह्री पाल्न सोखिन यी क्रान्तिकारी नेताले धेरै वर्षसम्म अतिशय कडा अमेरिकाली ब्यापार तथा बाणिज्यमाथिको प्रतिबन्धको सामना गर्नुपरेको थियो । साथै, उनको ज्यानै लिने उद्देश्यले आफ्नै देशभित्र र बाहिरबाट रचिएका सयौँ षडयन्त्रबाट समेत बच्दै आएका थिए । जीवनको उत्तरार्धमा कडा रोगले ग्रस्त पारेर शिथिल र अशक्त भएपछि उनले आफ्ना भाइ राउल क्यास्ट्रोलाई १० वर्षअघि देशको शासन सत्ता र शक्ति सुम्पिएका थिए ।

सिगार तान्न सोखिन स्वर्गीय राष्ट्रपतिको समर्थन र विरोधमा हालसम्म विश्वभर लेखिएका हजारौँ कथा, कहानी, लेख, रचना, समालोचना इत्यादि प्रकाशनमा आइसकेका छन् । उनलाई अत्यन्त कडा परिश्रमी, निडर योद्धा, प्रखर राजनीतिक चिन्तक, कुशल तर कडा शासक, सैनिक तानाशाह, वाकसिद्धि भएको भविष्यवक्ता, अमेरिकाको कट्टरविरोधी इत्यादिका रुपमा चित्रण गरिएको छ । उनी शक्तिशाली सेनापति मात्र नभई अदम्य साहसयुक्त, अनौठो वाक्पटुताले सम्पन्न र प्रभावशाली नेतृत्व दिनसक्ने राजनेताका रुपमा विश्वी नै परिचित थिए ।
‘समाजबाद र मृत्युमध्ये एउटा रोज’ भन्ने चिन्तन र नाराका साथ अघि बढेका स्वर्गीय क्यास्ट्रोले समाजवादी शासन प्रणाली लागु गरे ता पनि आफ्नो जीवनपर्यन्त क्युबामा सोहीअनुरुप आर्थिक परिवर्तन र समृद्धि भने ल्याउन सकेनन् ।

पश्चिमा शैलिको प्रजातन्त्रको लहरले समग्र विश्वलाई बिस्तारै ढाक्दै ल्याएपछि चीन र भियतनामजस्ता कट्टर बामपन्थी मुलुकहरु समेत अहिले यही लहरबाट प्रभावित भएर माक्र्सबाद लेनिनबादका मूल सिद्धान्तबाट ओझेलमा पर्दैछन् । त्यसैगरी, १ करोड दशलाख जनसंख्या भएको देश क्युबा पनि पश्चिमा शैलिको प्रजातन्त्रको प्रभावबाट अछूतो छैन । क्यास्ट्रोको निधन पश्चात् केही वर्षमै ‘क्युबामा त्यसबेलाको राष्ट्रपति फिडेल क्यास्ट्रोले लागु गरेका माक्र्सबादी अर्थतन्त्र धेरै वर्षसम्म धर्मराउँदै बाँचिरहेको थियो रे’ भनी आगामी पिँढीले उत्सुकतापूर्वक पढ्ने इतिहास बन्नेछ भन्ने एकथरि क्युबाली राजनीतिक चिन्तकहरुको बिश्लेषण रहेको छ ।

फिडेलको अस्तु उनकै चाहनाअनुसार दक्षिण–पूर्वी शहर सान्टियागो डि क्युवाको सान्ता इफिजिनिया चिहानमा लगेर सेलाइनेछ । क्युवाली क्रान्तिका अर्का नायक जोसे मार्टीको अस्तु पनि सोही चिहानमा सेलाइएको थियो । सो चिहान सन् १८६८ मा स्पेनियाली उपनिवेशविरोधी क्युवाली संघर्षका शहीदहरुलाई गाड्न स्थापना गरिएको थियो । क्युवाको राज्य परिषद्ले मंसिर १९ (डिसेम्बर ४) सम्म राष्ट्रिय शोक घोषणा गरेको छ । परिषद्को निर्णयअनुसार मंसिर १४–२९ नोभेम्बर) मंगलबार राजधानी हवानाको क्रान्तिकारी चोकमा जनताको विशाल भेला गरेर क्यास्ट्रोप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरिनेछ । शोकको अवधिमा क्युवाका टेलिभिजन र रेडियोमा ‘सूचनामूलक, देशभक्तिपूर्ण र ऐतिहासिक कार्यक्रमहरु’ मात्र प्रसारण गरिने परिषद्ले आफ्नो वक्तव्यमा जनाएको छ ।

फिडेल अन्तिमपटक औपचारिक रुपमा गएको अप्रिल महिनामा भएको क्युवाली कम्युनिस्ट पार्टीको महाधिवेशनमा सहभागी भएका थिए । महाधिवेशनमा प्रतिनिधिहरुलाई सम्बोधन गर्दै उनले आफ्नो निधनपश्चात् पनि विचारको लडाई जारी राख्न आह्वान गरेका थिए । ‘म चाँडै ९० वर्षको हुँदैछु । चाँडै म पनि अरु जस्तै जानेछु । सबैको एक न एक दिन समय आउँछ । तर क्युवाली कम्युनिस्टहरुको विचार भने यो ग्रहमा एउटा प्रमाणको रुपमा रहनेछ– यदि कसैले जुझारु भावना र आत्मसम्मानका साथ काम गरे उनीहरुले मानव जातिलाई आवश्यक भौतिक वस्तु तथा साँस्कृतिक सम्पदा उत्पादन गर्न सक्नेछन् र त्यसको लागि बिनासम्झौता लड्न जरुरी छ ।’ महाधिवेशनमा उने भनेका थिए ।
उनले गएको ३० कात्तिक (नोभेम्बर १५)मा क्युवा भ्रमणमा रहेका भियतनामी राष्ट्रपति त्रान दाय छ्वानलाई भेटेका थिए । हवाना पुग्ने सबैजसो विशिष्ट व्यक्ति र प्रतिनिधिमण्डलले भेट्ने गरेका क्यास्ट्रोसँग उनका मित्र हो चि मिन्हको देश भियतनामका राष्ट्रपतिले गरेको भेट नै अन्तिम औपचारिक भेटघाट बन्न पुग्यो ।

चिनियाँ राष्ट्रपति सि जिनपिङले उनलाई गएको अगस्त महिना र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले गएको गर्मीयाममा भेटेका थिए । आफ्ना प्रिय नेताको असामयिक निधनको खबरबाट दुखित बनेका क्युवाली जनता शोक व्यक्त गर्न हवानाका सडकहरुमा निस्केका छन् । आफ्ना प्रिय नेताको निधनको समाचार क्युवाली जनताको लागि अप्रत्याशित र दुःखदायी बनेर आयो । ४५ वर्षकी चिकित्सक मारिला ओलोन्सोले आफ्ना नेताप्रति भावपूर्ण श्रद्धा अर्पण गर्दै भनिन्, ‘उहाँ जनताका अभिभावक हुनुहुन्छ । उहाँजस्तो त कोही पनि नहोला । हामीलाई उहाँको भौतिक उपस्थितिको अभाव खट्किनेछ ।’ शुक्रबार हवानाको सडकको फुटपाथमा बस्दै गरेका मेकानिक सिलेस्तिनो एकोस्ताले क्यास्ट्रोको निधनलाई बज्रपातको रुपमा दुःख मनाउ गरे ।

हवानको मिरामरमा बस्दै गरेका १५ वर्षका कार्लोस रोड्रिग्युजले फिडेलको निधनको समाचार विश्वास गर्न नसकेर चिच्याइरहेका थिए, ‘फिडेल, फिडेल, यो मैले नचिताएको भयो ।’ २२ वर्षकी नर्स दायान मोन्ताल्भोले क्यास्ट्रोको निधनलाई ठूलो वियोगको रुपमा लिइन् । ‘यो जीवनको एउटा प्रक्रिया नै हो । तर यो कसैले सुन्न नचाहने समाचार हो । त्यो पनि कमाण्डरको निधन’, एक जना महिलाले भनिन् । ‘उहाँ सबैले सम्मान र माया गर्ने सार्वजनिक व्यक्तित्व हुनुहुन्छ । मलाई दुःख लागेको छ’, अर्को एकजना हवानाबासीले भने । ‘एक जना क्युवालीको रुपमा र उहाँलाई माया गर्ने सबै जस्तै म पनि दुःखी छु । उहाँले क्युवा, क्युवाली जनताको लागि क्रान्ति गर्नुभयो । हाम्रो लागि धेरै थोक गर्नुभयो । उहाँ हाम्रा आदर्श हुनुहुन्छ’, उनले भने ।

क्युवाली टेलिभिजनमा क्यास्ट्रोको निधनको घोषणा भएको केही समयमै ट्वीटरमा ३ लाख ५० हजार ट्वीटर प्रयोगकर्ताहरुले क्यास्ट्रोप्रति श्रद्धा व्यक्त गरेका थिए । विकिपेडियाले पनि आफ्नो अभिलेखमा तुरुन्तै उनको निधनबारे समाचार अपडेट गरेको थियो । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरो, इक्वेडकरका राष्ट्रपति राफेल कोरेया, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका क्रिकेट खेलाडी इमरान खानलगायत राजनीतिक नेता, खेलाडी, कलाकार र विश्वका विख्यात हस्तीहरुले ट्वीटरमार्फत आफ्नो श्रद्धाञ्जली सन्देश सम्प्रेषण गरेका थिए ।
नेपालका पनि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले फिडेल क्यास्ट्रोप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । यसरी श्रद्धा अर्पण गर्ने धेरै युवाहरु नै थिए ।

६ घन्टाको भाषण

फिडेल क्यास्ट्रोबारे सबैभन्दा रुचाइएको तथ्य उनको भाषणकलाको हो । उनी भाषणमा अत्यन्त गजब थिए । समयसमयमा भनिन्छ, उनी भाषणमा राम्रो हुँदैनथे भने ८२ जना लिएर सुरु गरेको त्यो आन्दोलन सफल हुने थिएन । हो, उनले क्युबा क्रान्तिको सुरुवात जम्मा ८२ जना लिएर गरेका थिए ।

फिडेल क्यास्ट्रो वाककलामा निपूर्ण थिए । क्युबाका मानिस उनको भाषणको बारम्बार प्रशंसा गर्थे । उनले पनि ६ घन्टाभन्दा बढी लामो भाषण दिएका छन् । लामो भाषणकै कारण उनको नाम गिनिज बुक अफ वल्र्ड रेकड्र्समा पनि राखिएको छ ।

२९ सेप्टेम्बर १९६० मा उनले संयुक्त राष्ट्रसंघमा ४ घन्टा २९ मिनेट लामो भाषण दिएका थिए । विश्वका नेता कसैले पनि यति लामो भाषण अहिलेसम्म दिएका थिएनन् । यो बाहेक उनको ७ घन्टा १० मिनेटको सबैभन्दा लामो भाषण क्युबामा रेकर्ड भएको थियो ।

यो सन् १९८६ को कुरा हो । उनले यो भाषण हवानाको कम्युनिस्ट पार्टीको अधिवेशनमा दिएका थिए । यी भाषणहरूकै कारण हुनुपर्छ, उनलाई टाइम म्यागजिनले विश्वका सय प्रभावशाली नेताको सूचीमा राखेको थियो ।

सबैभन्दा लामो शासनकाल

फिडेललाई कम्युनिस्ट आन्दोलनका महान् नेताका रूपमा पनि लिइन्छ । तर, योसँगै यही विषयमा उनको आलोचना पनि हुन्छ । त्यो आलोचनाको कारण हो– उनले क्युबामा धेरै लामो समय शासन गरे ।

यति मात्र होइन, फिडेल क्यास्ट्रो विश्वमै एउटा देशलाई सबैभन्दा बढी शासन गर्ने नेतामा पर्छन् । उनले सन् २००६ को जुलाईसम्ममा क्युबाको नेतृत्व गरेका थिए । सन् १९५९ देखि क्युबाको शासन आफ्नो हातमा लिएका उनले सन् २००८ मा बिरामी भएपछि शासन आफ्ना भाइ राउल क्यास्ट्रोलाई हस्तान्तरण गरेका थिए ।

९ अमेरिकी राष्ट्रपतिसँग टक्कर

अमेरिका र क्युबाको सम्बन्ध फिडेलको शासनका कारण बिग्रिएको हो भन्नेहरू धेरै छन् । क्यास्ट्रो सत्तामा आएपछि अमेरिकाले चार दशकभन्दा बढी क्युबासँग आर्थिक नाकाबन्दी लगायो । अहिले पनि यी दुई देशबीच त्यति राम्रो सम्बन्ध छैन । तर, गत वर्षमात्र यी दुई देशले एकअर्को देशमा राजदूतावास खोलेका छन् ।

धेरै समयअघि क्युबाविरुद्ध अमेरिकाले लगाएको आर्थिक नाकाबन्दी अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसको समयमा झन् चर्को भएको थियो ।

अन्तिम सिगार

भनिन्छ, फिडेल क्यास्ट्रो कुनै समय सिगारका ठूला फ्यान थिए । उनकै कारण क्युबामा सिगारका प्रयोगकर्ता बढेको पनि बारम्बार बाहिर आइरहेको हुन्छ । तर, कुनै समय एकपछि अर्को सिगार सल्काउने फिडेलले सन् १९८५ बाट सिगार खान छाडेका थिए । त्यो पनि एउटै निर्णयका कारण ।

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने उनले यो छोड्दा शत्रुहरूका लागि मात्र यो सिगार उपयुक्त भएको बताएका थिए । उनले सिगार छाड्दा भनेको वाक्यलाई बारम्बार उद्धृत गरिन्छ, ‘यो सिगारबारे सबैभन्दा राम्रो कुरा यसलाई शत्रुहरूलाई दिनु हो ।’

परिवार

क्यास्ट्रोका कम्तीमा पनि आठ सन्तान छन् । उनका जेठा छोरा फिडेल क्यास्ट्रो डिआज बालार्ट हुन् । उनलाई फिडेलिटो भनेर पनि चिनिन्छ । उनी एक वैज्ञानिक हुन् । उनकी छोरी एलिना फर्नान्डिज सन् १९९३ मा क्युबाबाट बाहिर भागेकी थिइन् । अहिले उनी क्यास्ट्रोबारे विभिन्न समारोहमा भाषण दिन्छिन् ।

दोस्री श्रीमती डालिआ सोटोसँग क्यास्ट्रोका ५ छोरा भए । ती सबैको नाम ‘ए’बाट सुरु हुन्छ । तीमध्ये सबैभन्दा कान्छो एन्टोनिओ अहिले पनि क्युबाका बेसबल टिमका चिकित्सक हुन् ।

क्यास्ट्रोको गाई

क्यास्ट्रोले जीवनभर कृषिलाई प्राथमिकता दिइरहे । उनले गाईपालन पनि गरेका थिए । उनको एउटा गाई उब्रे ब्लान्काबारे त विश्वमै एउटा कुरा चर्चित छ । त्यो हो– उनको गाईले अत्यधिक धेरै दूध दिन्थ्यो ।

गिनिज बुक अफ वल्र्ड रेकड्र्समा समावेश भएअनुसार यो गाईले एक दिनमा १ सय १० लिटर दूध दिन्थ्यो ।

अमेरिकी होटेलमा कोठा पाएनन्

यो १९६० को कुरा हो । संयुक्त राष्ट्र संघको १५औँ साधारणसभाको कुरा हो । विश्वभरका नेताहरू अमेरिकी सहर न्युयोर्कमा जम्मा भएका थिए । जब फिडेल क्यास्ट्रो न्युयोर्क पुगे, तब उनलाई कुनै पनि होटेलले आफ्नो कोठा दिन चाहेनन् ।

एकदिन त उनी क्युबाको दूतावासमै रहे । तर, यसबारे उनले संयुक्त राष्ट्रसंघका महासचिव ड्याग हेमरसोल्डलाई पनि गुनासो गरेका थिए । त्यसपछि मात्र उनले न्युयोर्कको होटेल टेरेसामा कोठा पाए । त्यो होटेलमा सबैभन्दा पहिले क्यास्ट्रो भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू भेट्न पुगेका थिए । त्यतिबेला क्यास्ट्रो ३४ वर्षका मात्र थिए ।

उनले एक अन्तर्वार्तामा नेहरूले आफ्नो आत्मविश्वास बढाएको बताएका छन् । ‘म कहिल्यै पनि बिर्सिन सक्दिनँ,’ उनले भनेका छन, ‘म उनको यो कुरा कहिल्यै पनि बिर्सिन सक्दिनँ ।’

मनपर्ने लेखक

क्यास्ट्रो अत्यधिक धेरै पनि पढ्थे । उनी आफ्नो अध्ययन कुनै पनि हालतमा रोकिनुहुँदैन भन्नेमा थिए । उनले जीवनभर सयौँ पुस्तक पढेको बारम्बार बताएका छन् । उनलाई सबैभन्दा मन पर्ने लेखक चाहिँ अर्नेस्ट हेमिंग्वे थिए ।

उनले सन् २०१० को एउटा अन्तर्वार्तामा आफूले हेमिंग्वेका सबै रचना पढेको बताएका थिए । अध्ययनमा मात्र होइन, क्यास्ट्रोलाई खेलकुदमा पनि अत्यधिक रुचि थियो । उनले हेमिंग्वेको पुस्तक ‘द ओल्ड म्यान एन्ड द सी’ बारम्बार पढेको पनि बताएका छन् ।

बारम्बार मृत्युका हल्ला

अन्तर्राष्ट्रिय समाचार माध्यममा क्युबाबारे त्यति समाचार आएनन् । आउन् पनि कसरी ? क्यास्ट्रो मात्र होइन, सकेसम्म आफ्ना समाचार बाहिर नआओस् भन्ने क्युबाको सरकार चाहन्थ्यो । यही कारणले पनि हुनुपर्छ, क्यास्ट्रो बारम्बार विभिन्न अफवाहको सिकार भए । उनको मृत्युको समाचार सन् १९९१ को दशकबाट नै सुरु भयो । यो सन् २०१० को दशकको सुरुवातबाट झन्झन् चर्को भयो ।

पछिल्ला १० वर्षमा उनका मृत्युका खबर कतिसम्म बढे भने उनले प्रत्येक वर्ष आफ्नो जन्मदिनमा फोटो सार्वजनिक गर्न थालेका थिए । उनी ८० वर्ष नपुग्दै पनि मृत्युको खबर फैलिएको थियो । यही कारणले उनले ८०औँ जन्मदिनको उपलक्ष्यमा आफ्नो तस्बिर सार्वजनिक गरेर आफ्नो मृत्यु भएको हल्लालाई निराधार सावित गरेका थिए ।

६३४ पटकसम्म हत्या गर्ने प्रयास

क्यास्ट्रोले आफ्नो जीवनकालमा ६ सय ३४ पटकसम्म हत्याको कोशिस भएको तथ्य पनि बाहिर ल्याएका थिए । यो षड्यन्त्र योजनाकार अमेरिकी सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) थियो । साथै, क्यास्ट्रोको हत्याको षड्यन्त्रमा अमेरिकाको सहयोग प्राप्त निर्वासित संगठनको पनि हात थियो ।

क्यास्ट्रोले आफूलाई मार्नका लागि विष मिसिएको औषधि, विषाक्त सिगार, विस्फोटक पदार्थ र रसायनयुक्त डाइभिङ सुटको पनि प्रयोग गरिएको खुलासा गरेका थिए ।

क्युबाको राजधानी हवाना सिगारका लागि विश्वभरमै प्रख्यात छ । क्यास्ट्रो पनि सिगारका अम्मली थिए । क्यास्ट्रोको जीवन कालमा आइजनहोवरदेखि लिएर बाराक ओबामासम्म ११ जना राष्ट्रपति अमेरिकामा फेरिए । तर, अमेरिका कहिलै पनि उनीमाथि हावी हुन सकेन । अनौठो के छ भने ८८ वर्षमै पहिलो पटक ओबामाले अमेरिकी राष्ट्रपतिकारूपमा क्युबाको भ्रमण गरे । तर, पनि क्युबामा ओबामाले क्यास्ट्रोलाई भेट्न पाएनन् ।

सन् १९६० को दशकमा दुवै देशबीचको सम्बन्ध टुटेको थियो । सन् १९५९ मा कम्युनिस्ट क्रान्ति भएपछि अमेरिकाले क्युबामा प्रतिबन्ध लगाएका थिए । यो प्रतिबन्धले अमेरिकालाई वर्षेनी १.२ बिलियन डलर नोक्सानी भएको थियो । सन् २०१४ मा ओबामाले दुबै देशबीच आर्थिक र कुटनीतिक सम्बन्ध सुधार्ने कुरा भएको छ ।

क्युबा–अमेरिका सम्बन्धमा सुधार

करिब एक वर्षसम्म क्यानाडा र भ्याटिकनमा दुबै देशबीच गोप्य वार्ता भएको थियो । यो वार्तामा पोप फ्रान्सिस स्वयम् सामेल थिए । वार्ताको उद्देश्य क्युबाबाट आतंकलाई बढावा दिने देशका रुपमा अमेरिकाले लगाएको चिन्ह हटाउनु थियो । क्युबामा अमेरिकी नागरिक आउन लगाइएको रोक र आर्थिक नाकाबन्दी हटाउनु पनि अर्को उद्देश्य थियो ।

अगस्ट २०१५ मा अमेरिकाले क्युबामा आफ्नो राजदूतावास फेरि खोल्यो । सेप्टेम्बर २०१५ मा क्युबाले पनि अमेरिकामा आफ्नो राजदूतावास फेरि खोल्यो


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट