उमेर नपुग्दै विवाह गर्दा स्वास्थ्यमा जटिल समस्या

प्रकाशित मिति: ८ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

धनगढी, ८ पुस । जिल्ला जनस्वास्थ्य कार्यालय सुरक्षित मातृत्व फाँटकी प्रमुख तारा तामाङले किशोर–किशोरीको प्रजनन स्वास्थ्यमा पहिलेभन्दा केही सुधार भइरहेको पाइए पनि कम उमेरमै भागेर विवाह गर्ने चलन कैलालीमा बढ्दै गएको बताएकी छन् ।

‘मोबाइल र फेसबुकको बढ्दो प्रयोगका कारण उमेर नपुग्दै भागी विवाह गर्ने चलन बढ्दो छ,’ तामाङले भनीन – ‘यस्तो अवस्थामा बच्चा र आमाको स्वास्थ्यमा जटिल समस्या देखिने गरेको छ ।’

यौन, प्रजनन, स्वास्थ्य शिक्षा र परिवार नियोजनका बारेमा चेतना जगाउन सुनिता चौधरी निर्धक्कसँग आफ्नै उमेरका किशोर–किशोरीसँग संवाद र छलफलमा जुट्ने गरेकी छन् ।

उनले नियमितजसो गर्ने संवादकै कारण कैलाली हसुलिया गाविस क्षेत्रमा यौन प्रजनन स्वास्थ्य परिवार नियोजनजस्ता विषयमा कुरा गर्न लजाउने स्थानीय किशोर–किशोरी अहिले भने खुलेरै आफ्ना कुरा भन्न थालेका छन् ।

हप्तामा छ दिन गाउँ बस्तीका टोल र विद्यालयमा यौन, प्रजनन स्वास्थ्य शिक्षा, परिवार नियोजनका बारेमा जनचेतना जगाउन सुनिताको नेतृत्वको टोली सक्रियताका साथ संवादमा जुट्ने गरेको छ । ‘

उनीहरुले गर्ने गरेको संवाद एवम् छलफलबाट गाउँका अरु किशोर–किशोरीका साथै उमेर पुगेका महिला पुरुषसमेत लाभान्वित भएका छन् । प्रजनन स्वास्थ्य, परिवार नियोजन, महिनावारीजस्ता स्वास्थ्य समस्याको समाधानमा चेतना आएको अनुभव स्थानीयवासी गोवारी चौधरीले सुनाउछीन ।

‘अहिलेसम्म गाउँ, टोल र विद्यालय गरी दुई हजार बढी किशोर–किशोरीलाई यो शिक्षा दिइसकेका छौँ’ सुनिताले भनीन –’महिला र किशोरी आफूमा भएको स्वास्थ्य समस्या खुलेर भन्न सक्षम भएका छन् ।’

‘स्कुलमा गएर कक्षा ८, ९ र १० का छात्रछात्रालाई पनि यस्ता समस्याबारे जानकारी दिने गरेका छौँ’ सुनिताकै टोलीमा खटिने गरेकी अर्की किशोरी सुधानी चौधरीले भन्छीन– ‘यसले मान्छेले आफ्नो स्वास्थ्यका बारेमा राख्ने पुरानो सोच र लजाउने स्वभावमा ठूलो परिवर्तन आएको देखेको छु ।’

नेपाल परिवार नियोजन सङ्घ, कैलालीको हसुलियामा रहेको सामुदायिक स्वास्थ्य क्लिनिकअन्तर्गत सञ्चालनमा आएको युवा सूचना केन्द्रले गाउँ टोलमा पुगेर यौन प्रजनन, स्वास्थ्य, परिवार नियोजनलगायत स्वास्थ्यका विषयमा छलफल एवम् परामर्श गर्नका लागि सुनितासहितका चार किशोरी र दुई किशोरलाई परिचालन गर्ने गरेको हो ।

यसबाहेक सूचना केन्द्रमा आएर पनि किशोर–किशोरी, उमेर ढल्केका महिला पुरुष सबैले आफ्नो स्वास्थ्यका बारेमा परामर्श लिने गरेका छन् ।

परिवार नियोजन सङ्घका शाखा प्रबन्धक वासुदेव विष्टले सामुदायिक स्वास्थ्य क्लिनिक र युवा सूचना केन्द्रमार्फत यौन प्रजनन स्वास्थ्य, महिनावारी, परिवार नियोजनका साधन, सुरक्षित मातृत्व, नवजात शिशु, एचआइभी एड्सको उपचार तथा परामर्श, सुरक्षित गर्भपतन, लैङ्गिकमा आधारित हिंसालगायत नौ विषयमा परामर्श दिने गरेको बताइन ।

सामुदायिक स्वास्थ्य क्लिनिक हसुलियाले गएको ११ महिनामा मात्रै एक हजार ५७३ महिला पुरुषले डिपो, पिल्स, कण्डमलगायतको सेवा पाएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट