जबरजस्ती करणी गर्ने जेल चलान

प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

ताप्लेजुङ, ७ पुस । जिल्ला अदालत ताप्लेजुङले एक आठ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल चलान गरिएको छ ।

अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । जिल्ला न्यायाधीश अशोककुमार बस्नेतको इजलासले भोटे भनिने चोङवाङलाई करणी अभियोगमा दोषी ठहर गर्दै कैद सजाय र क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

जिल्ला अदालतका श्रेस्तेदार गोपालप्रसाद थापाका अनुसार गएको असार २६ गते चोङवाङले रु ५० दिन्छु भनी आठ वर्षीया बालिकालाई ललाइफकाइ मकैबारीमा लगेर जबर्जस्ती करणी गरेका थिए । बालिका रुँदै गरेको अवस्थामा अभिभावकले फेला पारी सोधपुछ गर्दा बालिकाले बताएको बयानका आधारमा अभिभावकले प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीले असार २८ गते पक्राउ गरी ल्याएका चोङवाङलाई अदालतले साउन २१ गते पुर्पक्षमा राखी अनुसन्धान गर्न आदेश दिएको थियो । चोङवाङ अहिले जिल्ला कारागारमा थुनामा रहेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट