अझै असुरक्षित छन् वैदेशिक रोजगारीमा जाने महिला

प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

खोटाङ, ६ पुस । कुवेत, साउदी अरब र ओमन पुगेर फर्किएकी खोटाङको निर्मलीडाँडा–३ की हीरा राईले गन्धर्व गीतियात्राका क्रममा उनको गाउँमा पुगेको टोली समक्ष आफूले विदेशमा पाएको दुःखको बारेमा जानकारी दिएकी हुन् ।

‘म विदेश जाँदा वैदेशिक रोजगारीको बारेमा जानकारी दिने कोही थिएन ।’ विदेशबाट फर्किएकी एक महिलाले भनीन्, ‘विदेश जानका लागि पुर्याउनुपर्ने आवश्यक कानुनी प्रक्रियाको बारेमा पहिले नै जानकारी पाएको भए मैले त्यस्तो धेरै दुःख पाउँदिन थिए होला !’

‘सानै छँदा मलाई आफन्तले विदेश पठाउन फकाउन थाले ।’ विगत सम्झँदै उनले भनीन्, ‘पच्चीस हजार रुपैयाँ तिरेर कुँवेत हिँडे । इन्डियाको बाटो भएर जाँदा माइती नेपालले फर्काइ दियो ।’ उनले थपीन्, ‘प्रक्रिया नपु¥याइ विदेश हिँडेकाले फर्काइएको रहेछ ।’

पैसा कमाउन सकिन्छ भन्ने आशामा आफू पनि अरुको लहैलहैमा विदेश जान तयार भएको राईले बताईन । ‘नौ वर्षसम्म कुवेतमा बसेँ तर, पैसा भने दिएनन् ।’ उनले भनीन् , ‘आफूले काम गरेको पैसा माग्दा उल्टै तातो पुनिउँले कुट्ने गथ्र्यो ।’

घरेलु कामदारका रुपमा कुँवेतमा रहँदा त्यहाँकी साहुनीले पटकपटक यातना दिने गरेको उनले बताईन । कुवेतकी साहुनीले तँलाई मैले किनेर ल्याएको, केको पैसा दिनु भन्दै एक दिन तन्नामा झुन्ड्याइ दिएको पनि उनले जानकारी दिईन ।

साहुनीको ज्यादती सहन नसकेर त्यस घरबाट भागेको राईले बताईन । ‘मलाई झुन्ड्याएको ठाउँबाट चारवटा तन्ना जोडेर भाग्न सफल भएँ ।’ उनले भनीन, ‘त्यहाँबाट निस्किएपछि बाटोमा भेटिएका मान्छेलाई आमाबुबा झै सम्झिएँ ।’

बाटामा भेटिएका मान्छेकै सम्पर्कमा नेपाल नआइकन उताउतै साउदी गएको उनले सुनाईन । ‘साउदीमा पनि घरभित्रकै काम थियो तर, त्यहाँ त्यति गाह्रो भएन ।’ उनले भनीने, ‘काम गर्न सबै आउँथ्यो, त्यसैले सजिलै भयो ।’

घरकी जेठी छोरी भएकाले सबै गर्जो आफैँले टार्नुपर्ने हुँदा बाध्यतावस आफू विदेश गएको राईले बताईन । घरमा वृद्ध आमाबुबा र छजना भाइबहिनीको हेरचाह आफू एक्लैले धान्नुपर्ने बाध्यता रहेको राईको भनाइ छ ।

जिल्लाका अधिकांश महिला विदेश जानुपूर्व सूचना तथा जानकारी नलिई जाने गरेको पाइएको बालसेवा समाज नेपाल, नेर्पा, खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सामीका सामाजिक परिचालक लीला निरौला बताईन ।

गत साउन १ देखि मङ्सिर १५ गतेसम्म जिल्लाका १२१ जना महिलाले मात्र सूचना केन्द्रमा आएर जानकारी लिएको केन्द्रका परामर्शदाता अम्बिका दाहालले जानकारी दिईन् ।

विदेश जाने महिला तथा पुरुषलाई जानुपूर्व पु¥याउनुपर्ने प्रक्रिया र विदेशमा गइसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा गन्धर्व मार्फत सन्देशमूलक गीत गाएर जानकारी दिने गरिएको  छ। पछिल्लो समय जिल्लामा वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन सामीले गन्धर्व गीतियात्रा सञ्चालन गर्दै आएको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट