म्याद सकिएका सामग्री बिक्रेता प्रहरी नियन्त्रणमा

प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

रुकुम, ६ पुस । ट्रकबाट म्याद सकिएका सामान बिक्री गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दाङको तुल्सीपुरबाट ट्रकमा राखेर रुकुमका विभिन्न बजारमा खुलारुपमा बिक्री गरिरहेको म्याद सकिएको सामानसहित बिक्री गर्नेलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको हो ।

तुल्सीपुरबाट ट्रकमा राखेर ल्याएको म्याद सकिएको सोयाबिनलाई प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरिएको हो । म्याद सकिएको सामान बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा ट्रक चेकजाँच गर्दा १५ बोरा सोयाबिन फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।

दाङको तुल्सीपुरमा रहेको बैस्य स्टोरबाट ट्रकमा राखेर म्याद सकिएको सामान बिक्री वितरण भएको थियो । ट्रकबाट फेला परेको म्याद सकिएको सोयाबिनलाई नष्ट गरिएको छ भने बिक्री गर्ने मानिसलाई भने आवश्यक अनुसन्धान पछि छोडिएको प्रहरीको भनाइ छ । फेला परेको म्याद सकिएको सामानको बजार मूल्य करिब रु २२ हजार बराबरको रहेको छ । ट्रकमा सोयाबिनका साथै अन्य सामान पनि रहेको थियो । तर अरु सबै सामानको म्याद बाँकि रहेको प्रहरी नायब उपरीक्षक जिसीको भनाइ रहेको छ ।

रुकुम उद्योग वाणिज्य सङ्घले कालोबजारी र म्याद सकिएका सामानको बिक्री हुनसक्ने भएकाले खुलारुपमा सामान बिक्री वितरण गर्न नदिने निर्णय गरेको छ । उसले जिल्लाभित्र खुद्रा पसल सञ्चालन गर्नेलाई डिलरबाट मात्र सामान दिने निर्णय गरेपनि ट्रकमा राखेर केही सस्तोमा यस्ता म्याद सकिएका सामानको बिक्री हुने गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट