सिद्धबाबाधाम जाने पर्यटकको संख्या बढ्दैं

प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

पाल्पा, ६ पुस । रामपुर नगरपालिका–१३ भुजातमा कालीगण्डकी नदीको किनारमा रहेको पर्यटकीय, धार्मिक क्षेत्र सिद्धबाबाधाम क्षेत्र पर्यटकको आकर्षणको केन्द बन्दै गएको छ ।

प्रसिद्ध धार्मिक तीर्थस्थल सिद्धबाबाधामको धार्मिक, पर्यटकीय महत्व बढ्दै जान थालेपछि पर्यटकको आकर्षक गन्तव्यस्थलको रुपमा परिचित हुन थालेको हो । कालीगण्डकी नदी किनारको मनोरम दृश्यले यसको झन सुन्दरता थपेको समाजसेवी एकराज अर्यालले बताए ।

रामपुर नगरपालिकाले सिद्धबाबाधामलाई पूर्वाधार विकास गरी पर्यटकीय क्षेत्रको रुपमा घोषणा गरेपछि यस क्षेत्रको महत्व बढ्दै गएको नगरपालिकाका कार्यकारी अधिकृत थानेश्वर पराजुलीले बताए ।

पर्यटकीय क्षेत्र घोषणा गरेसँगै नगरपालिकाले यस क्षेत्रमा भौतिक पूर्वाधार तथा पर्यटकको सुविधाका लागि टर्मिनल निर्माण गरेको र नगरपालिकाको दश पर्यटकीय क्षेत्रका रुपमा सिद्धबाबाधाम क्षेत्रलाई पनि घोषणा गरेर पर्यटन विस्तारका काम गरेको उनले बताए ।

कालीगण्डकीको नदी किनारैमा रहेको ओढारमा स्थानीयवासीले सिद्धबाबाको उत्पत्ति हुनुपूर्व पानी आउँदा ओत लाग्ने गर्दथे । सोही ओढारमा २०५१ साल असार १४ गते भुजातका स्थानीयवासी दिनेश अधिकारीले राति सपनामा सिद्धबाबाको मूर्ति देखेपछि भोलिपल्ट ओढारमा गएर हेरेपछि सिद्धबाबाको मूर्ति फेला परेको स्थानीय मन्दिर व्यवस्थापन समिति अध्यक्ष सरोज अधिकारी बताए । त्यसयता ओढारलाई संरक्षण गर्दै यहाँका स्थानीयवासीले अहिले पर्यटकीय क्षेत्रका रुपमा सिद्धबाबाधाम क्षेत्रलाई चिनाउन सफल भएका छन् ।

ओढार आसपासका क्षेत्र विकास गर्दै जाँदा यहाँ दिनहुँ थुप्रै अन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । ओढारका भित्री तथा बाहिरी भू–भागमा विभिन्न देवीदेवताका आकृति प्रसस्तै देख्न सकिन्छ ।

समितिका अनुसार यस वर्षको मङ्सिरसम्म १५० जना बाह्य र २० हजारभन्दा बढी आन्तरिक पर्यटक आएका समितिका सचिव पीताम्बर बस्यालले बताए ।

यहाँ पर्यटक भित्रिएसँगै स्थानीयवासीको आर्थिक अवस्थामा समेत सुधार हुँदै गएको छ । सिद्धबाबाधाम क्षेत्रको विकाससँगै यहाँका स्थानीयले तरकारीखेती र पशुपालन गरेर आयस्रोत बढाउँदै गएको स्थानीयवासी त्रिलोचन अधिकारी बताछन् ।

गुफा नजिकै नवज्योति आमा समूह भुजातद्वारा निर्मित मन्दिरमा दुर्गाको मूर्ति रहेको छ भने आसपासमा शिवजीको मूर्ति, बसाहा, १०८ शिवलिङ्ग निर्माण गरेपछि यहाँको सुन्दरता बढ्दै गएको छ । एक सय आठ शिवलिङ्ग निर्माण गरिएपछि यसले अझ बढी पर्यटकीय क्षेत्रलाई सजाएको छ ।

मन्दिरको उत्तरी भेगमा कलकल बग्ने पवित्र काली नदी, पश्चिमतर्फ पिपलपाटा सामुदायिक वन, उत्तर पश्चिमतर्फ हरियाली चौर, खेलमैदानले यहाँको आकर्षक झन बढेको छ ।

यस क्षेत्रमा यहाँका स्थानीयवासीको सक्रियतामा मन्दिर प्रवेशद्वारा, मन्दिर कम्पाउन्ड, १०८ शिवलिङ्ग, ऋषिमुनिको मूर्ति, पौवा, सार्वजनिक शौचालय, टर्मिनल निर्माण गरिएको छ । मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु चार लाख, रामपुर नगरपालिकाले रु एक लाख २५ हजार, जिल्ला विकास समिति पाल्पाले रु एक लाख ५० हजार, स्थानीय पिपलपाटा सामुदायिक वनले रु पाँच लाख, नवज्योति आमा समूहले रु तीन लाख ५० हजार आर्थिक रकम सहयोग गरेको अध्यक्ष अधिकारीले बताए ।

अध्यक्ष अधिकारीले भन्नुभयो, ‘यस क्षेत्रलाई देशमै नमुना पर्यटकीय केन्द्रको रुपमा परिचित गराउने र दैनिक २०० को हाराहारीमा पर्यटकको सङ्ख्या भित्र्याउने योजना छ ।’ यहाँ शिवरात्रि पर्वका अवसरमा विशेष मेला नै लाग्ने गर्दछ । यस क्षेत्र पछिल्लो समय पिकनिक स्पटका रुपमा समेत विकास हुँदै गएको छ ।

यस क्षेत्रमा अहिले दिनहुँ पाल्पा,स्याङ्जा, तनहुँ र नवलपरासीलगायतका विभिन्न ठाउँबाट सिजनमा दिनमा ९-१० जनासम्मको समूह वनभोजका लागि आउने गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट