दुई वर्षभित्र ३१ विद्यालय निर्माण हुने

प्रकाशित मिति: ५ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

मेलम्ची, ५ पुस । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा सिन्धुपाल्चोक जिल्लामा दुई वर्षभित्र ३१ विद्यालय निर्माण गरिने योजना रहेको छ । भूकम्पले ध्वस्त भएको सिन्धुपाल्चोकका भूकम्पले ध्वस्त भएको सिन्धुपाल्चोकका विकट मानिने छ गाविसमा १६ विद्यालय निर्माणाधीन छन् । भूकम्पले ध्वस्त भएका विद्यालय भवनको निर्माण कार्य धमाधम भइरहेको छ ।

जिल्लाको विकट तथा केही नजिकका गाविसमा कारितास स्विटजरल्यान्डको सहयोग र टुकी सङ्घ सुनकोसी तथा महिला आत्मनिर्भरताको समन्वयमा पाँचवटा विद्यालय पुनःनिर्माण भइसकेको छ भने बाँकी निर्माण प्रक्रियामा छन् ।

विसं २०१८ सम्ममा जम्मा ३१ विद्यालय बनाउने उद्देश्य रहेको कारितास स्विटजरल्यान्डका राष्ट्रिय निर्देशक बन्र्ड सेफरले जानकारी दिए । विद्यालय निर्माणको कार्यमा सक्रिय रहेको बताउँदै सेफरले विभिन्न सङ्घसंस्थाको समन्वयमा जिल्लाको हेलम्बु, दुवाचौर, इचोकलगायत सात गाविसमा पाँचवटा सामुदायिक विद्यालय निर्माण गरिसकेको जानकारी दिए ।

निर्माण कार्य सम्पन्न भएका पाँच विद्यालय र निर्माणको चरणमा रहेको १० विद्यालय गरी जम्मा ३१ विद्यालय निर्माण गर्ने लक्ष्य रहेको सेफरले बताए । रु डेढदेखि पाँच करोडको लगानीमा कारितास स्विटजरल्यान्ड, महिला आत्मनिर्भरता केन्द्र र टुकी सङ्घ सुनकोसीको समन्वयमा भूकम्प प्रतिरोधी तथा बालमैत्री र अपाङ्गमैत्री भवन समेत निर्माण गरिएको कारितासले जनाएको छ ।

भूकम्पपछि लगत्तै कारितास स्विटजरल्यान्ड, टुकी सङ्घ सुनकोसीलगायतका सङ्घसंस्थाले जिल्लाको विभिन्न क्षेत्रमा पक्की भवन बनाएर सहयोग गर्दै आइरहेको जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरेले बताए ।

भवन सँगसँगै हेल्भेटास नेपाललेको सहयोगमा विद्यालयमा खानेपानीको सुविधा समेत दिएको छ । विद्यालय नजिका सबै स्थानीयलाई समेत खानेपानीको सुविधा उपलब्ध गराएको हेल्भेटासले ट्याङ्की निर्माण गरेर खानेपानीको सुविधा थपिदिएको हो ।

विद्यालयका बालबालिका उपस्थिति दर बढाउन, विद्यार्थी प्रोत्साहान गर्न, अभिभावक शिक्षा, छात्रवृत्ति, शिक्षक तालिम, बालमैत्री विद्यालय तालिमलगायतका विभिन्न कार्याक्रम संचालन गरिरहेको टुकी सङ्घ सुनकोसीका कार्याक्रम संयोजक निराजन चौलागाईंले बताए ।

सिन्धुपाल्चोक जिल्ला शिक्षा कार्यालयको तथ्याङ्कअनुसार भूकम्पपछि आधारभूत विद्यालय ४११ माध्यमिक विद्यालय १३१ गरी जम्मा ५४२ विद्यालय रहेका छन् ।

विभिन्न सङ्घसंस्थाको सहयोगमा जिल्लामा जम्मा एक हजार ८२७ कक्षाकोठा बन्न लागेका छन् । जसमध्ये ४१० वटा कक्षा कोठा निर्माणाधीन रहेको र बाँकी ७७० कक्षाकोठा बन्ने तयारी रहेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।

शिक्षा कार्यालयका अनुसार अहिले आठ हजार २३२ कक्षाकोठा निर्माणको लागि आवश्यक देखिएको छ । आधारभूत कक्षा सञ्चालनको लागि चार हजार १२, र माध्यमिक तहको लागि चार हजार २२० कक्षाकोठा निर्माण हुनुपर्ने शिक्षा कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट