दुब्लाउने बाहनामा नेपाली पैसा विदेशियो

प्रकाशित मिति: ४ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, ४ पुस । व्यस्त जीवनका कारण मानिसहरु अचेल दुब्लाउनका लागि अचेल व्यायामको साटो ग्रीन टी खानेहरुको संख्या बढ्दो देखिएको छ । व्यस्त जीवनमा फास्टफुड र चिल्लो एवं तारेको खानेकुरा खाने मानिसहरुको बाध्यताजस्तै बनेको छ जसका कारण दुब्लाउनुको साटो मोटोपन बढिरहेको छ । दुब्लाउनका लागि अचेल ग्रीन टी खानेहरुको संख्या हृवात्तै बढेको छ । देशभित्रै ग्रीन टी बर्षेनी १० लाख मेट्रिक टनजति उत्पादन हुन्छ । साथै यो बाहिरबाट समेत आयात गर्ने गरिन्छ ।

व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार ग्रीन टी खरिदका कारण गत आर्थिक वर्ष ०७२/०७३ मात्रै देशबाट ३५ लाख ७८ हजार रुपैयाँ बाहिरिएको छ । आर्थिक वर्ष ०७२/०७३ मा १ हजार ४ सय ७७ किलोग्राम ग्रीन टी विदेशबाट आयात भएको छ । नेपालमा ग्रीन टी चीन, भारत, ताइवान, थाइल्याण्ड, भियतनाम र बेलायतबाट आयात हुने गरेको छ ।

धेरैजसो मानिसहरु अहिले दुब्लाउने आशमा ग्रीन टी खाने गर्छन् । बानेश्वरको सिद्धबाबा आयुर्वेदका सञ्चालक हिमाल बस्नेतका अनुसार ‘उच्च रक्तचाप, मुटुरोग र अन्य रोगको लाभदायक भनिए पनि मानिसहरुले विशेषगरी यो खाएपछि दुब्लाइन्छ रे भन्ने आशमा ग्रीन टी किन्ने गरेका छन् । देशमै पनि यसको खपतमा मात्रै होइन, उत्पादनमा समेत वृद्धि भएको छ । नेपालमा यसको माग बढ्दै गएपछि उत्पादनमा पनि बृद्धि हुन थालेको हो ।

सरकारसँग भने ग्रीन टी उत्पादन बारे कुनै आकँडा नै छैन । उत्पादनको आँकडा अभावका कारण देशमा यो के कति रकम बराबरको खपत हुन्छ भन्ने पनि आधिकारिक तथ्यांक पाउन सकिँदैन । व्यापार तथा निकासी प्रवर्धन केन्द्रका अनुसार अघिल्लो आर्थिक वर्ष ०७१/०७२ मा भने देशबाट १० लाख रुपैयाँ बराबरको रकम ग्रीन टी आयातका लागि बाहिरिएको थियो । गत वर्ष नेपालमा १ हजार २ सय ४० किलोग्राम ग्रीन टी आयात गरिएको थियो ।

यसरी हेर्दा देशमा प्रत्येक वर्ष ग्रीन टी खरिदका लागि बाहिरिने रकम बढ्दै गएको छ । व्यस्त जीवनमा व्यायाम गर्ने समय र जाँगरको अभावले देशको ठूलो मात्रामा रकम भने बाहिरिन थालेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट