सार्वजनिक खानेपानीका धारा हराउँदै

प्रकाशित मिति: ३ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

रुकुम, ३ पुस । सार्वजनिक खानेपानीका धारा लोप हुँदै जान थालेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत वर्षदेखि सार्वजनिक धारालाई विस्थापन गरेर एक घर एक धारा बनाइदिन थालेपछि सार्वजनिक धारणा बनाउनै छाडिएको छ । सबैलाई खानेपानीको पहुँचमा पु¥याउन र सरकारको लगानीलाई सही सदुपयोग गर्नका लागि सार्वजनिक धारालाई विस्थापन गरेर एक घर एक धाराको अवधारणा सुरु गरिएको कार्यालय प्रमुख विकेश बधानथाछेले बताए ।

यसले गर्दा गाउँमा सञ्चालन हुने आयोजना दीर्घकालीनसम्म सञ्चालन हुनाका साथै सबैको घरमा पानीको पहुँच पुग्ने विश्वास उनको छ । एक घर एक धाराको अवधारणा लागू भएपछि स्थानीयवासी पनि खुसी भएका छन् । अहिलेसम्म जिल्लाका सिस्ने, काँक्री, मोरावाङ, चुन्वाङ र सिम्ली गाविसबाहेक अरू सबै ठाउँमा सो कार्यक्रम लागू भएको कार्यालयको भनाइ छ ।

एक घर एक धारा पुर्याउनका लागि ठूला आयोजनालाई विशेष प्राथामिकता राखेर काम सञ्चालन भइरहेको कार्यालय प्रमुख बधानथाछेले बताए । सार्वजनिक धारामा पानी प्रयोग गर्दा थोरै समय मात्र प्रयोग हुने र पछि कसैले मर्मत नगर्दा खानेपानीको समस्या बढ्दै गएपछि डिभिजन कार्यालयले यस्तो कार्यक्रम सुरु गरेको हो ।

कार्यक्रम लागू भएपछि लामो समयदेखि पानीको समस्या झेल्दै आएका सर्वसाधारण घरमै पानी पुगेपछि खुसी भएका छन् । अहिलेसम्म यो कार्यक्रम झुला र पेउघा गाविसका विभिन्न ठाउँमा सम्पन्न भइसकेको । अब अति आवश्यक विद्यालय, मन्दिरबाहेक अन्य कुनै पनि ठाउँमा सार्वजनिक खानेपानीका धारा नबाउने गरेर सञ्चालन भइरहेका आयोजनामा काम भइरहेको बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट