भारु सटहीका लागि छुट्टै सफ्टवेयर तयार: शिवाकोटी

प्रकाशित मिति: ३ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

विराटनगर,३ पुस । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीका अनुसार नेपाल राष्ट्र बैंकले प्रतिबन्धित पाँच सय र हजारका भारतीय नोट सटहीका लागि छुट्टै सफ्टवेयर तयार पारेको जानकारी दिएका छन् ।

विराटनगरमा आज पत्रकारहरुसँग कुराकानी गदै डेपुटी गभर्नर शिवाकोटीले राष्ट्र बैंकले यस्ता नोट सटहीका लागि विशेष सफ्टवेयर बनाएर नेपालीवाहेकले साट्न नपाउने व्यवस्था गर्न लागेको जानकारी दिए । राष्ट्र बैंकले तयार पारेको सफ्टवेयर र सटही सम्वन्धी व्यवस्थाको खाका रिजर्ब बैंक अफ इन्डिया (आरबिआई)लाई पठाइसकेको उनले जानकारी दिए ।

डिपुटी गभर्नर शिवाकोटीका अनुसार नेपालीले २५ हजार भारतीय रुपैयाँ मात्रै साट्न पाउने व्यवस्था अनुसारको खाका आरबिआईलाई पठाएको छ । शिवाकोटीले दिएको जानकारी अनुसार एक नेपाली नागरिकले एक पटकमा बढीमा २५ हजार रुपैयाँ साट्न पाउनेछन् । त्योभन्दा बढी साटेको पत्ता लागेमा नोट जफत गरिने छ । त्यस्तै साट्न खोजिएको भारतीय नोटको स्रोत पनि उल्लेख गर्नुपर्ने छ ।

शिवाकोटीका अनुसार नोट साट्न आउने नागरिकलाई फाराम दिइने र उसले उक्त फाराममा आफ्नो नागरिकताको प्रमाणपत्रको नम्बर, जिल्ला र फोन नम्बरसमेत उल्लेख गर्नुपर्नेछ । नेपालमा ३ अर्ब ३६ करोड ९० लाख रुपैयाँ भारतीय वैधानिक नोट रहेको बताइन्छ । पाँच सय र एक हजार दरका नोट बैंक तथा वित्तिय संस्थामा दुई अर्ब ५२ करोड रूपैयाँ र होटल, ट्राभल एजेन्सी लगायतका व्यवसायिक क्षेत्रमा ८१ करोड गरी जम्मा तीन अर्ब ३६ करोड ९० लाख रूपैयाँ रहेको अनुमान गरिएको पनि शिवाकोटीले जानकारी दिए ।

भारतमा मजदूरी गरेर आउने, भारतीय सेनामा कार्यरतले लिने पेन्सन, औषधि उपचार र विद्यार्थीले जम्मा गरेर राखेको रकम साट्ने विषयमा समेत पहल भइरहेको डेपुटी गभर्नर शिवाकोटीले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट