२ डेन्टलकेयर र प्रयोगशालामा सिलबन्दी

प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

बेनी,१ पुस । म्याग्दीको बेनीबजारमा मापदण्ड विपरित प्रक्रिया नपुर्याइ सञ्चालनमा रहेका दुईवटा डेन्टलकेयर र एक प्रयोगशालामा सिलबन्दी गरिएको छ ।

आपूर्ति व्यवस्था उपभोक्ता हित संरक्षण विभागको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले गरिएको बजार अनुगमनका क्रममा बेनीको हुलाकचोकस्थित सञ्चालनमा रहेका निलगिरि र युगल डेन्टल केयरले प्रक्रिया नपु¥याई सञ्चालन गरेको देखिएकाले ती दुवैलाई सिलबन्दी गरिएको विभागका निर्देशक निरज पौडेलले जानकारी दिए ।

त्यस्तै दश वर्षदेखि इजाजत पत्रबिना नै सञ्चालनमा रहेका स्थानीय न्युरोडस्थित आरके प्याथोलोजीलाई पनि सिलबन्दी गराइएको उनले बताए ।

‘विगतमा गरिएको बजार अनु्गमनका क्रममा दिइएको सुझाव कार्यान्वयन भएका छैनन्, मनपरी सेवा सञ्चालन भइरहेका अन्य औषधि पसललाई समेत कानुनी दायरामा ल्याउनेछौँ, जिल्ला जनस्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत नारायण चौधरीले भने — ‘अनुगमनका क्रममा सेवा सञ्चालन अनुमतिपत्र लिने बेलामा बिरामीलाई उपलब्ध गराउने छुटसहित मासिक, चौमासिक तथा वार्षिक विवरण जिल्ला जनस्वास्थ्य र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा उपलब्ध गराउनु्पर्ने प्रावधान समेत कार्यान्वन नगरेको पाइएको छ ।’

डेन्टल सेवामा आवश्यकपर्ने पूर्वाधार तथा प्रक्रिया, सेवाको विवरण, मूल्यसूची लगायतका विवरण समेत अनुगमका क्रममा नभेटिएको अनुगमन टोलीका सदस्य एवम् जिल्ला प्रशासन कार्यालयका नवीन सुवेदीले बताए ।

तीनवटा औषधि पसल र प्रयोगशालामा गरिएको अनुगमनमा ती सबै कानुन विपरित र मापदण्ड अपुग भएको फेला परेपछि बजारमा रहेका अन्य औषधि पसललाई समेत एक हप्ताभित्र कानुनी प्रक्रियामा ल्याउन आपूर्ति व्यवस्था उपभोक्ता हित संरक्षण विभागका निर्देशक पौडेलले निर्देशन दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट