पोल कुहिन थालेपछि दुर्घटनाको त्रास

प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

म्याग्दी, २९ मंसिर । म्याग्दीका ग्रामीण भेगमा झन्डै दुई दशकअघि गाडिएका विद्युत्का काठेपोल कुहिन थालेपछि स्थानीयवासी दुर्घटना हुनसक्ने भन्दै त्रसित बनेका छन् ।

जिल्लाका बेनी नगरपालिकाको बगरफाँट्, रत्नेचौर, गौश्वारा, फापरखेत, अर्जम सिङ्गातातोपानी, पुलाचौर, घतान, तोरीपानी, बरजा, भकिम्ली लगायत गाविसमा रहेका एक हजार दुई सय काठेपोलमध्ये अधिकांश पोल कुहिन थालेका छन् ।

विसं २०५४ मा काठेपोलबाट बिजुली बालिएको सदरमुकाम बेनी बजारसँगै जोडिएको बेनी नगरपालिका–४ बगरफाँटमा अहिले सबै पोल कुहिएको अवस्थामा रहेका छन् ।

हालसम्म पनि पुराना काठेपोल नफेरिँदा स्थानीयवासी जोखिममा परेका हुन् । ‘गाउँभरिका सम्पूर्ण पोलको अवस्था अत्यन्त नाजुक रहेको छ, तार खेतमा छरिएका, रुखमा छोइएका छन्’ स्थानीय नारायण कार्की भन्छन् ‘काठेपोलले ज्यानको जोखिम बढाएको छ, सम्बन्धित निकाय र उपभोक्ता समितिको लापरबाहीका कारण विद्युत् उपभोगमा समस्या आएको छ ।’ बगरफाँटमा रहेका ६० पोलमध्ये लगभग सबै पोल कुहिएको अवस्थामा रहेका छन् ।

विद्युत् ल्याउने समयमा नै पोलको उचित व्यवस्थापन नगरी अव्यवस्थित रुपमा पोल गाडिएको र अहिले भाँचिने अवस्थामा पुग्दा पनि विद्युत प्राधिकरण तथा सरोकारवालाले कुनै पहल नगरेको गुणासो स्थानीयवासीको छ ।

‘जिल्लाका विभिन्न ठाउँमा एक हजार दुई सय भन्दा बढी काठेपोल रहेका र तिनको अवस्था दयनीय रहेको विद्युत् प्राधिकरण म्याग्दीका प्रमुख सीताराम शाहले बताए । प्रमुख शाहका अनुसार अब काठेपोल प्रयोग गर्न नपाइने भएकाले एक-दुई वर्षभित्रमा सबै काठेपोल फेरेर फलामे पोल गाड्ने प्राविधिकरणको योजना रहेका छन् ।

एक नगरपालिका र ३५ वटा गाविस रहेको म्याग्दीमा अहिलेसम्म बेनी नगरपालिकासहित १९ वटा गाविसमा विद्युतीकरण भएको प्रमुख शाहले बताए । प्रमुख शाहका अनुसार गतवर्ष एक हजार फलामको पोल गाउँमा विस्तार गरिएको छ ।

चालु आवमा बजेट कम भएको हुँदा गत वर्षको भन्दा कम फलामे पोल प्राप्त हुने भएकोले सबै ठाउँमा उपलव्ध गराउन कठिन हुने प्रमुख शाहले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट