सरकारले साझा प्रकाशनलाई तीस करोड दिने

प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २७ मंसिर । सरकारले आर्थिकरुपमा जर्जर भएको साझा प्रकाशन बचाउन ३० करोड रुपैयाँ निकासा दिने भएको छ ।शिक्षामन्त्री धनीराम पौडेलका अनुसार मन्त्रिपरिषद्को आइतबारको बैठकले १० करोड अनुदान र २० करोड ऋण गरी ३० करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

विगतमा सरकारी पाठ्यपुस्तक वितरणको आधिकारिक विक्रेता रहेको सो संस्थाको जिम्मेवारी केही वर्षयता खोसिनुका साथै अपारदर्शीताका कारण संस्था घाटामा गएको थियो । मन्त्री पौडेलले प्रकाशनले आफूले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई तिर्नुपर्ने रकम पनि सोही रकमबाट व्यवस्थापन गर्नुपर्ने बताए । पाठ्यपुस्तक वितरणको नयाँ जिम्मेवारीबारे भने हाल निर्णय भइनसकेको उनले बताए ।

सञ्चालक समितिका साथै राष्ट्रकवि माधवप्रसाद घिमिरेलगायत स्रष्टाले प्रधानमन्त्री, शीर्ष नेता र सम्बन्धित निकायमा लामो समयदेखि संस्था बचाइदिन आग्रह गरेका थिए । करिब एक हजार ५०० स्रष्टा सेयर सदस्य रहेको साझा प्रकाशनका कर्मचारीले विगत छ महिनादेखिको तलब नपाएको गुनासो गर्दै आएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट