५ जना प्रहरीलाई जलाउने प्रयास

प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २६ मंसिर । एक स्थानीय ट्याक्सी चालकको शंकास्पद मृत्युका कारण उत्पन्न विवादमा गोकर्णेश्वर-१३ नयाँ बस्तीमा एक समूहद्वारा प्रहरी चौकीका सईसहित ५ जनालाई पेट्रोल छर्केर आगो लगाउने प्रयास गरिएको प्रहरीले जनाएको छ ।

दोलखा चरिकोट घर भई नयाँबस्ती बस्दै आएका ३६ वर्षीय राजकुमार लामाको शंकास्पद मृत्युपछि आक्रोशित स्थानीयले आइतबार बिहानै प्रहरी चौकी आक्रमण गरेका थिए । प्रहरीले हिरासतमा लिएर कुटपिट गर्दा लामाको मृत्यु भएको स्थानीयको आरोप छ ।

उनको उपचार क्रममा मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरीको दाबी छ । चलाउने बा२झ २२३ नम्बरको ट्याक्सी उनी लडेको भन्दा केही पर ठोक्किएको अवस्थामा समेत फेला परेको थियो ।

स्थानीय भने प्रहरीको भनाइसँग असहमत छन् । उनलाई मापसेकै निहुँमा नियन्त्रणमा लिइएको एक स्थानीयले बताए । प्रहरी हिरासतमै उनलाई कुटपिट गर्दा घाइते भएको र अस्पताल लगिएको पनि स्थानीयको आरोप छ । मृतकका आफन्तले पनि लामालाई प्रहरीले नियन्त्रण लिएको र उनको हिरासतमै मृत्यु भएको आरोप लगाएका छन् ।

आक्रोशित भीडले प्रहरी चौकी बाहिर रहेका सुरक्षाकर्मीलाई कुटपिट गर्दै चौकीभित्र रहेका सई संजीव नापित र ५ जनालाई बाहिरबाट घेरेर पेट्रोल छर्केको प्रहरीले दाबी गरेको छ । प्रहरीका अनुसार आक्रमणकारीले चौकी अगाडि रहेका ४ वटा मोटरसाइकलमा आगो लगाएका छन् ।

प्रहरीले चौकीबाट निस्केर दर्जनौं हवाइ फायर गरेको थियो । चौकी वरपर रहेका स्थानीयले खबर गरेपछि बौद्ध र गौशालाबाट गएको थप टोलीले चौकी आक्रमण गर्न पुगेकालाई तितरवितर गरेको थियो । आक्रमण गर्नेले प्रहरी चौकीका सिसा, झ्याल ढोका, गमला, टिभी, कुर्सी तोडफोड गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट