लिखु खोलाको पुल नबन्दा बासिन्दा मर्कामा

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

सोलुखुम्बु, २४ मंसिर । सोलुखुम्बुको चौलाखर्क र रामेछापको गुम्देल गाविस जोड्ने लिखुखोलाको पुल निर्माण कार्य चार वर्षमा पनि पूरा हुन सकेको छैन ।

विसं २०६९ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनबीच सम्झौता भई काम सुरु भएको पुल निर्माण कार्य हालसम्म पनि पुरा भएको छैन । सो पुल निर्माण नहुँदा सोलुखुम्बुको डाँडापारिका गाविस गोली, चौलाखर्क र भकाञ्जेका बासिन्दा मर्कामा परेका छन् भने सदरमुकामबाट चौलाखर्क तथा रामेछाप हुँदै राजधानी चल्न सक्ने सडक निर्माणको काम पनि अवरुद्ध भएको छ ।

विसं २०७० असार मसान्तभित्रमा काम सम्पन्न गर्नेगरी रु तीन करोड ५० लाखको लागतमा सम्झौता भएको सो ट्रस्ट ब्रिजको निर्माणकार्य बीचमा २ वर्ष अवरुद्ध भएको थियो । अघिल्लो वर्षको चैत महिनामा सोलुखुम्बुका सांसद बलबहादुर केसी र डोलिडारका प्राविधिक सहितको उपस्थितिमा सार्वजनिक सुनुवाई गरी ठेकेदारलाई दबाब दिएपछि पुनः काम सुरु भएको थियो । गत वर्षको असार मसान्तमा अन्तिम पटकका लागि एक वर्षको म्याद थप भएकाले आगामी असार मसान्त सम्ममा निर्माण सक्नुपर्ने दबाबका कारण अहिले काम भइरहेको छ ।

रामेछापतर्फको पिलर निर्माण सकिएको र सोलुखुम्बु तर्फको पिलर निर्माण कार्य भइरहेकाले आगामी असारभित्रमा निर्माणकार्य सम्पन्न गर्ने सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनका प्रोप्राइटर मदन बस्नेतले बताए । बस्नेतका अनुसार अहिले निर्माण कार्य दु्रतगतिमा चलिरहेको छ भने ट्रस्टका लागि आवश्यक सामग्री निर्माण जिम्मा लिएको कम्पनीले गतवर्ष नै सामग्री तयार गरिसकेको छ । सोलुखुम्बुतर्फको पिलर तथा अन्य निर्माणको काम आगामी वैशाखसम्ममा सम्पन्न गरेर लगत्तै ट्रस्टका सामग्री ढुवानी गरी जडान गर्ने बस्नेतले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट