चित्र कोर्ने कलामा रमाउँदै अजय

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

पाल्पा, २४ मंसिर । पाल्पाको सहलकोटका अजय सुनार अहिले चित्र कोर्ने कलामा रमाउँदै छन् । बाल्यकालदेखि नै चित्र कोर्ने कलामा रुचि जगाउँदै आएका सुनारको कला देख्ने जोकोहीको मन लोभ्याउने गर्दछ ।

उनले हातले बनाएको तस्बिर र डिजिटल प्रविधिबाट निर्माण गरिएको तस्बिर छुट्टयाउन गाह्रो परेको सुनारका साथी इमानसिंह रानाले बताए । रामतुल्सी उच्च माविमा कक्षा ११ मा एजुकेसन साइन्स पढ्दै गरेका सुनारले विभिन्न क्षेत्रसँग सम्बन्धित, कलाकर्मी, महान् विचारक व्यक्तित्व लगायतका थुप्रै तस्बिर निर्माण गरिसकेका छन् । उनको फुर्सदको समय तस्बिर कोर्ने काममा बित्ने गर्दछ ।

उनी घरमा प्रयोग गरिने रङ्गरोगन, इनामेल पेन्ट्स ब्रस र कलरका माध्यमबाट चित्र कोर्ने गर्छन् । उनले निर्माण गरेका सामान बजारमा बिक्री नहुँदा चिन्तित हुन्छन् । बजारमा डिजिटल प्रविधिका कम्प्युटरबाट विभिन्न तस्बिर सस्तो मूल्यमा पाइने भएकाले घरायसीरूपमा हातले प्रयोग गरिएका सामग्रीले बजार नपाएको उनको गुनासो छ ।

एउटा तस्बिर उनले साइजअनुसार आधा घन्टादेखि एक घन्टाको समयमा निर्माण गर्ने गर्छन् । एउटा तस्बिर साइजअनुसार पाँचा सय देखि तीन सय रुपैयाँ सम्मको मूल्य पर्ने उनले बताए । घरमा आफैँले हातले निर्माण गरेका सामग्री मिहेनतअनुसार डिजिटल प्रविधिका कम्प्युटरबाट निकालिएका सामग्रीभन्दा बढी महँगो पर्ने र घरायसी सामग्रीको महत्व कमैले बुझेकाले पनि अवसरलाई प्रस्फुटन गराउने माध्यम नबनेको बताए ।

भविष्यमा गएर अवसर पाएको खण्डमा चित्रकार बन्ने उनको सोच रहेको छ । कला र सीप हुँदाहँुदै पनि अवसर पाउने वातावरण नहुँदा यस्ता प्रतिभा ओझेलमा परेका छन् । यस्ता प्रतिभाको कदर गर्न नसक्दा सिर्जनाहरू ओइलाएर गएका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट