लथालिङ्ग सडकका कारण ललितपुरवासी हैरान

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

ललितपुर, २४ मंसिर । विसं २०१५ सालमा खुलेको कान्ति राजपथ अझै पूरा भइसकेको छैन । कच्ची बाटो र वर्षामा पहिरोका कारण बाटो अवरुद्ध भइरहँदा स्थानीयवासी हैरान छन् । बर्सेनि स्तरोन्नतिको काम भइरहे पनि स्थानीयवासीले सहजरूपमा आवत–जावत गर्न पाएका छैनन् ।

चारवर्ष पहिले सडक विस्तार सुरु भएको कलङ्की–कोटेश्वर (ललितपुर हुँदै) सडक पूरा नहुँदा ललितपुरवासी हैरान छन् । गाडी गुड्ने सडक साँघुरो भएकाले एकातिर सडकमा नियमित ट्राफिक जाम र अर्कातिर धुँवा–धुलोले गर्दा सडक प्रयोगकर्ता हैरान भएका हुन् । गत वर्षको भूकम्प र त्यस लगत्तैको नाकाबन्दीले गर्दा सडक निर्माण एक वर्ष अझै लम्बिएको छ । सधैँ सडकमा काम गरेको देखिए पनि यात्रुलाई सहज नभएका ललितपुरका ग्रामीण क्षेत्र र सहरी क्षेत्रका यी दुई सडक उदाहरण मात्रै हुन् । सरकारले ग्रामीण सडकमा बर्सेनि टुक्रे बजेट उपलब्ध गराउँदा र ठूला योजनाका पनि अवधि विभिन्न कारण लम्बिँदा सडक प्रयोगकर्ता हैरान छन् । दोस्रो चौमासिकको सुरु भइसक्दा ललितपुरका कतिपय सडक ठेक्का भइसेका छन् भने कति ठेक्काको क्रममा छन् । त्यसो त ठेकेदारका ढिलाइका कारण अघिल्ला वर्ष पूरा गरिसक्नुपर्ने सडकसमेत लथालिङ्ग छन् । डिभिजन सडक कार्यालय, जिविस, उपमहानगरपालिका, नगरपालिका, कान्ति राजपथ सुधार योजना, काठमाडौं चक्रपथ सुधार योजना लगायतका निकाय जिल्लामा सडकको काम गरिरहेका छन् । राजधानी काठमाडौंसँग जोडिएको जिल्ला भएपनि जिल्लामा सबै गाविसमा सडक सञ्जाल पुगेको ५ वर्ष मात्रै भएको छ । दक्षिण ललितपुरको प्युटारबाट आश्राङ हुँदै ठूला दुर्लुङ सडक जोडिएपछि सबै गाविसमा सडक सञ्जाल जोडिएको हो ।

चालु आवमा जिल्ला परिषद्बाट स्वीकृत योजनाका करिब १० वटा सडकको काम जिल्ला प्राविधिकको कार्यालयले गरिरहेको छ । केही यही वर्ष स्वीकृत योजना र केही बहुवर्षीय सडकको काम भइरहेको जिल्ला प्राविधिकको कार्यालयमा कार्यरत सब–इन्जिनियर किशोर मोक्तानले बताए । धेरै लाभान्वित हुने सडक मात्रै होइन घर–घर पुग्ने सडक बनाउन स्थानीयवासीले माग गरिरहेका छन् । उनी भन्छन्, ‘घरैसम्म सडक पुग्नुपर्छ भन्ने मान्यता कम गर्नुपर्ने खाँचो छ ।’ दलचोकीबाट सङ्खु हुँदै इकुडोल पुग्ने सडक स्तरोन्नतिको काम सुरु भएको छ । नल्लुबाट चौघरे हुँदै कतुवानबेसीसम्मको ११ किलोमिटर सडक ग्राभेलको काम भइरहेको हो । चन्दनपुरबाट ठूला दुर्लुङ हुँदै आश्राङसम्मको सडक स्तरोन्नतिको स्थानीयवासीले माग गरेका छन् । मोक्तान भन्छन्, ‘अहिले विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहेको छ ।’ दक्षिण ललितपुरमा सडक बाह्रै महिना चलाउनका लागि मोटर गुड्ने पुलको कामसमेत भइरहेको छ । डिभिजन सडक कार्यालय अहिले क्षेत्रीय स्तरमा सडक, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, निर्वाचन क्षेत्र अन्तर्गतको सडक लगायतका काम अघि बढाएको छ ।

यीमध्ये कतिपयको ठेक्का सम्पन्न भइसकेको छ भने कतिपय ठेक्काको प्रक्रियामा रहेको इन्जिनियर रीना साहले बताईन । क्षेत्रीय स्तरका १४ वटा सडकको यही वर्ष काम सक्ने गरेर ठेक्का भइसकेको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत २५ वटा सडकको काम सुरु भएको छ । पाँचवटा रणनीतिक सडकको ठेक्का हुन बाँकी छ । साह भन्छिन्, ‘बहुवर्षीय सडकमा पूरा नहुँदासम्म काम भइरहन्छ ।’ चक्रपथ अन्तर्गतको ललितपुरको पूरै सडक पर्ने काठमाडौं चक्रपथ सुधार योजना अन्तर्गतको काम सन् २०१७ को जनवरीसम्ममा सकिने इन्जिनियर रमेश दृष्टिले बताए । काठमाडौं जिल्लाको कलङ्कीबाट चक्रपथहुँदै काठमाडौंकै कोटेश्वर जोड्ने भएपनि ललितपुरको बढी भाग यस योजनामा पर्छ । ४८ प्रतिशत काम सकिएको उनले दाबी गरे । उनले भने, ‘यही वर्षमा पाँच किलोमिटर सडक कालोपत्र पनि सकिनेछ ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट