वरिष्ठ पत्रकार ढकालको निधन

प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

झापा, २४ मंसिर । झापाका वरिष्ठ पत्रकार एवम् पूर्वाञ्चल दैनिकका प्रधान सम्पादक मदन ढकालको ६५ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ ।

मधुमेह र मिर्गौला रोगबाट पीडित ढकालको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । एक वर्षअघिदेखि मधुमेह र मिर्गौला रोगबाट पीडित बन्नुभएका ढकाललाई गत बुधबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । २००९ जेठ १९ गते आइतबार अनारमनी–१ मा जन्मेका ढकाल झापाका सफल साहित्यकार एवम् उपन्यासकारका रूपमा समेत परिचित थिए ।

स्व तुलसादेवी ढकाल र परशुराम ढकालका जेठा सुपुत्रका रूपमा जन्मेका ढकालले २०२४ सालदेखि पत्रिकाको सम्पादन गर्ने काम गर्दै आएका र २०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्रवेश गरेका उनले १९ वर्षसम्म अध्यापन समेत गराएका थिए । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनी नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद् थिए । स्व ढकालका बुबा परशुराम, श्रीमती सावित्रा ढकाल, एक छोरा र चार छोरी छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट