ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने तयारी पुनःअघि बढ्यो

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

बागलुङ, २३ मंसिर । पाँच वर्ष अघिदेखि मध्यवर्ती क्षेत्र घोषणाको प्रयास हुँदै आएकोमा स्थानीयवासीको विरोधपछि गत वर्ष अन्तिम चरणमा घोषणा कार्य रोकिएको ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने तयारी पुनःअघि बढेको छ । आरक्ष कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पुनः नयाँ प्रस्ताव पठाएको हो ।

सीमा सर्वेक्षणसहितको विस्तृत अध्ययन प्रतिवेदन विभागमा पठाइएको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।  अध्ययनपश्चात् विस्तृत रुपमा सीमा सर्वेक्षण पनि गरेका छौँ अधिकृत बरालले भने “अब विभाग र मन्त्रालयको निर्णयको प्रतिक्षामा छौँ ।” आरक्ष कार्यालयले पटक पटक मध्यवर्ती क्षेत्र घोषणाको लागि स्थानीय तहदेखि केन्द्रसम्म जानकारी गराउँदै आएको थियो । आरक्ष क्षेत्रभित्र पर्ने बागलुङ, म्याग्दी र रुकुम जिल्लाका १० गाविसलाई मध्यवर्ती क्षेत्रमा समेट्ने योजना छ । जसभित्र ४७ वटा मानव बस्ती पर्नेछन् । करिब ५५० वर्ग किलोमिटर क्षेत्रफल जमिन मध्यवर्ती क्षेत्रमा समेट्ने गरी प्रस्ताव गरिएको अधिकृत बरालले जानकारी दिए ।बागलुङको बोबाङ, अधिकारीचौर, निसी र बोङ्गादोभान, म्याग्दीको लुलाङ र गुर्जाखानी तथा रुकुमको तकसेरा, जाङ, हुकाम र रन्मामैकोट गाविस मध्यवर्ती क्षेत्रमा समेटिएको छ । उनका अनुसार देशभर रहेका १४ वटा निकुञ्ज र आरक्ष क्षेत्रमध्ये ढोरपाटन मात्र मध्यवर्ती क्षेत्र घोषणा हुन बाँकी छ ।

अहिले स्थानीयवासी पनि मध्यवर्ती क्षेत्र घोषणाप्रति सकारात्मक रहेको आरक्ष कार्यालयले जनाएको छ । डेढ वर्षअघि मध्यवर्ती क्षेत्र घोषणा रोक्न स्थानीयले वन मन्त्रालय, राष्ट्रिय वनजन्तु संरक्षण विभाग र प्रधानमन्त्री कार्यालयसम्मै पुगेर बिरोध जनाएका थिए । विरोध मत्थर पार्न आरक्ष कार्यालयले स्थानीयस्तरमा सचेतना अभियान चलाएपछि उनीहरुले समर्थन जनाएका अधिकृत बरालले बताए ।मध्यवर्ती क्षेत्र घोषणा भएपछि आरक्षबाट बर्सेनि संकलन हुने राजस्वको ५० प्रतिशत रकम आरक्षमै फर्कनेछ । राजस्वको ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्र कार्यक्रम र सामुदायिक विकासका लाागि खर्च हुनेछ । घोषणापछि आरक्षको संरक्षण, व्यवस्थापन, सामुदायिक विकास, सीप विकास, आयआर्जन, पर्यटन विकासलगायतका कार्यक्रम सञ्चालन गरिने आरक्ष कार्यालयले जनाएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट