नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधान गरेको : परराष्ट्रमन्त्री महत

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
काठमाडौँ, २३ मंसिर । इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै  परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधान गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएको बताउदैं  उनले संसारका अरु देशमा पनि द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्ने  बताएका छन् ।

विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री तथा प्रतिनिधिहरुको सहभागिता रहेको सो सम्मेलनको उद्घाटन इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले बिहीबार बिहान गरेका हुन् । यस सम्मेलनको यसपटकको नारा ९थिम० धर्म, प्रजातन्त्र र बहुलवाद राखिएको छ । शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको सङ्घर्षको उदाहरण दिँदै परराष्ट्रमन्त्री डा महतले यस सङ्घर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशील बन्न सिकाएको धारणा राखे । हाँले नेपालले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको यस सङ्घर्षको परिणामस्वरुप दशकौँपछि नेपाली जनताले संविधानसभा मार्फत आफँै संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्वारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको बताए ।  मन्त्री डा महतले भने  “हामी संसारमा नै उदाहरण दिन मिल्ने गरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसद्मा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ ।” उनले अगाडि भने – “हाल नेपालमा राष्ट्रपति, संसद्मा सभामुख र प्रधानन्यायाधीशमा पनि महिला रहेका छन् ।

समावेशी र सहभागितामूलक विकास प्रयासलाई नेपाल सरकारले प्राथमिकतामा राखेको र देशका महिला, गरिब तथा समाजमा विभिन्न कारणले पछि परेका समुदायका नागरिकको सशक्तीकरणका लागि आवश्यक नीति र कार्यक्रमका लागि अघि बढेको जानकारी पनि उनले सो सम्बोधनका क्रममा बताए । नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहहरुका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधानको कार्यान्वयनमा थप सशक्तता आउने र दिगो विकास र देशले लिएको समावेशी र सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने धारणा पनि राखे । नेपाल सधैँ शान्तिपूर्ण सहअस्तित्व र धार्मिक तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्छ भन्दै उनले भने – “प्रजातन्त्र, कानुनी शासन, बहुलवाद र शान्तिपूर्ण सहअस्तित्वका माध्यमबाट नै अन्तर्राष्ट्रिय समुदायका बीचमा पनि सहयोग, साझेदारिता र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास रहेको बताए ।

समाजका हरेकखाले चुनौतीको समाधानका साथै नागरिकको सामाजिक न्यायका लागि समावेशी प्रजातन्त्र र धार्मिक स्वतन्त्रता एवम् सहिष्णुता सशक्त औजार हुन् भन्दै नेपाल सधैँ धर्म वा अन्य कारणले हुने कुनै पनि प्रकारका आतङ्कवादको विरुद्धमा रहँदै आएको प्रतिबद्धता पनि सो अवसरमा उनले व्यक्त गरे । भोलिसम्म चल्ने यस सम्मेलनमा इन्डोनेसियाली राष्ट्रपति र संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानले पनि मन्तव्य राखेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट