भक्तपुरमा दोस्रो चरणको खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन हुने

प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
भक्तपुर, २३ मंसिर । पहिलो चरणअन्तर्गत खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको भक्तपुरमा पूर्ण सरसफाइ अभियानअन्तर्गत दोस्रो चरणको खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन हुने भएको छ ।  अभियान सञ्चालनका लागि खानेपानी मन्त्रालयअन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषले जिल्ला विकास समिति भक्तपुर, जिल्लाका चार नगरपालिका र सहयोगी संस्थाबीच रु छ करोड २० लाख बराबरको आयोजना सञ्चालनको सम्झौता गरेको छ ।

पहिलो चरणअन्तर्गत खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको भक्तपुरमा दोस्रो चरणको पूर्ण सरसफाइ अभियानअन्तर्गत भक्तपुरका चाँगुनारायण, नगरकोट, सूर्यविनायक र अनन्तलिङ्गेश्वर नगरपालिकाका–११ वडामा खानेपानी र सरसफाइका आयोजना सञ्चालन हुनेछन् । अभियानअन्तर्गत चाँगुनारायणको तीन, नगरकोटको एक, सूर्यविनायकको तीन र अनन्तलिङ्गेश्वरको दुई गरी नौ वडामा नौ वटा खानेपानी योजना सञ्चालन हुने सम्झौता कार्यक्रममा कोषका उपकार्यकारी निर्देशक सञ्जय कुमार मिश्रले जानकारी दिए । यी नगरपालिकाका ११ वटा वडामा ११ वटा सरसफाइ कार्यक्रम सञ्चालन हुने बताउँदै उनले खानेपानीका नौ र सरसफाइका ११ वटा योजना छनोट गरी आव ०७३÷०७४ को रातो किताबमा समावेश भइसकेको मिश्रले बताए । योजना सञ्चालनका लागि जिविस भक्तपुरका स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, चार नगरपालिकाका कार्यकारी अधिकृत, सहयोगी संस्था युवा क्रियाकलाप समाज र नेपाल सर्वोदय सेवा केन्द्रसँग कोषले दोस्रो चरणको कार्यक्रम सम्झौता गरेको हो ।

कार्यक्रममा स्थानीय विकास अधिकारी कोइरालाले पूर्ण सरसफाइ अभियानको प्रमुख मेरुदण्ड खानेपानीको पहुँच र प्रयोग भएकाले आम नागरिकलाई खानेपानीको सहज सुविधा उपलब्ध गराउन सके अभियान सफल र सार्थक हुने बताए । खानेपानी र सरसफाइ कार्यक्रम सञ्चालनका लागि सहयोगी संस्था युवा क्रियाकलाप समाज भक्तपुरले तीन नगरपालिकाका आठ वडाका लागि रु पाँच करोड बराबर र नेपाल सर्वोदय सेवा केन्द्रले दुई नगरपालिकाका तीन वडाका लागि रु एक करोड २० लाख बराबरको आयोजना सञ्चालन गर्ने सोयाका कार्यकारी निर्देशक पहलमान श्रेष्ठले जानकारी दिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट