धनकुटामा प्राविधिक तर्फका शिक्षकको भेला

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
धनकुटा, २२ मंसिर । नेपालभर व्यावसायिक शिक्षाको माग उच्च भएको बेला प्राविधिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयका शिक्षकको भेला सुरु भएको छ । मङ्गलबार धनकुटाको पाख्रिवासस्थित जाल्पादेवी माध्यमिक विद्यालयमा सुरु भएको भेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष डा कुलबहादुर बस्नेतले नेपालमा प्राविधिक शिक्षा व्यावसायिक शिक्षाको माग उच्च भएपनि महँगो भएका कारण सर्वसाधारणको पहुँचमा नभएको बताए ।

सरकारी लगानी सदुपयोग एवम् दक्ष जनशक्ति उत्पादन गर्न सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन आवश्यक रहेको छ । मुलुकका विभिन्न क्षेत्रमा सञ्चालन गरिएका परीक्षा अभिमुखीकरण तथा समीक्षा गोष्ठीमा पूर्वाञ्चल र मध्यमाञ्चलका ३८ विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकको सहभागिता रहेको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीको उद्घाटनमा प्राविधिक शिक्षाको विकास नभई मुलुकको विकास सम्भव नभएको चर्चा गर्दै प्राविधिक शिक्षाकै अभावका कारण मुलुकबाट धेरै पैसा विदेसिएका कारण प्राविधिक शिक्षाको नीति बनाएर कार्यान्वयन थालेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । समाजमा श्रमको सम्मान गर्ने वातावरण नभएसम्म मुलुक आर्थिकरूपमा कमजोर हुने वक्ताले विचार राखेका थिए ।

जाल्पादेवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर गुरुङको सभापतित्वमा भएको उद्घाटन सत्रमा क्षेत्रीय शिक्षा निर्देशनालय धनकुटाका निमित्त निर्देशक रमेशबहादुर दाहाल, जिल्ला शिक्षा अधिकारी रामबहादुर थापा लगायतले बोल्नुभएको थियो । सामुदायिक विद्यालयको खस्कँदो अवस्थामा निजी विद्यालयतर्फ आकर्षण भएको बेला प्राविधिक धारको शिक्षाले आकर्षण दिनसक्ने अवस्था रहेकोतर्फ नीतिनिर्माणकर्ता लागिपर्नुपर्नेमा सहभागीले जोड दिएका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट