गुरुयोजना बनाएर काम गर्न सुझाव

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
बनेपा, २२ मंसिर । बनेपा हुँदै बहने पुण्यमाता खोला र आसपासको क्षेत्रलाई प्रदूषणमुक्त बनाउन सरोकार भएकाले गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिएका छन् । काठमाडौं विश्वविद्यालयको वातावरण विभागका विद्यार्थीले मङ्गलबार धुलिखेलमा आयोजना गरेको पुण्यमाता सरसफाइ छलफल कार्यक्रममा उनीहरूले सो सुझाव दिएका हुन् ।

केयुका चार विद्यार्थीले सुरु गरेको अभियानलाई हौस्याउँदै उनीहरूले पुण्यमाता खोलाको जलाधार क्षेत्र र जीविकोपार्जन गर्ने समुदायसँग जोडेर सरसफाइ अभियानलाई अघि बढाउनुपर्ने बताएका छन् ।  सो अवसरमा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ मकाजु श्रेष्ठले धेरै वर्षपहिले पुण्यमाताको पानी खाएर पेट दुखेको समस्या समाधान भएको जानकारी दिँदै सार्वजनिक स्वार्थ गाँसिएपछि प्रभावकारी काम हुने बताए । पूर्वसचिव तथा प्राध्यापक किशोर थापाले पुण्यमाता परियोजनालाई संस्थागत गर्न खोजिएको उल्लेख गर्दै अनुसन्धानको क्षेत्रमा काठमाडौं विश्विद्यालयले नै काम गर्न सक्षम हुने बताए । स्थानीय विकास अधिकारी टेकराज निरौलाले वातावरण संरक्षणका लागि बजेट छुट्टाउन सकिने उल्लेख गर्दै संस्थागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बनेपा नगरपालिकाका कार्यकारी अधिकृत महेश पराजुलीले फोहोर भएको क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिँदै अध्ययन गरेर गुरुयोजना निर्माण भएपछि सरसफाइ अभियानले मूर्त रुप लिने विचार व्यक्त गरेका थिए ।

पनौती नगरपालिकाका कार्यकारी अधिकृत श्याम खड्काले वातावरणमैत्री कार्यक्रमका लागि रु २० लाख बजेट विनियोजन भएको जानकारी दिए । धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत विनोद भट्टराईले केयुका विद्यार्थीसँग साझेदारीमा वातावरणमैत्री कार्यक्रम भएको उल्लेख गदै काम गर्न बजेट अभाव नहुने तर्क गरे । केयुका विद्यार्थी प्रकाशकिरणजङ्ग थापाले नगरकोटबाट नै अनुसन्धानको काम थालिने जानकारी दिँदै करिब डेढ महिनाको अवधिमा गुरुयोजना तयार हुने बताए । सो खोलाआसपास तेस्रो सातासम्म सरसफाइ भएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट