चितवनमा १६ हजार तीनसय ५५ भूकम्पपीडित

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

चितवन, २२ मंसिर । चितवनमा १६ हजार तीनसय ५५ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् । हालै सुरु भएको भूकम्पपीडितको पुनः लगत सङ्कलनका क्रममा यसरी पीडितको निवेदन सङ्कलन भएको हो । सामान्य क्षतिसहित गरी यसअघि चितवनमा १५ हजार सातसय ४९ भूकम्पपीडितको तथ्याङ्क आएको थियो । त्यसमा पूर्णक्षति तीनहजार सातसय २५ घर रहेको थियो ।

चितवनका स्थानीय विकास अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य सचिव श्रवणकुमार पोखरेलले गाउँगाउँमा नगरपालिका र गाविसमार्फत गरिएको लगत सङ्कलनको क्रममा यसरी भूकम्पपीडितले क्षतिको विवरण पेस गरेको हो । पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रो चरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डका आधारमा मात्रै उनीहरूलाई सरकारले रु तीन लाखको राहत प्याकेज दिनेछ । अहिले आएका निवेदन छानबिन गर्न केन्द्रबाट इन्जिनियर सहितको टोली आउन लागेको जिविस चितवनका सूचना अधिकारी बलराम लुइँटेलले जानकारी दिए । गत कात्तिकबाट यसरी लगत सङ्कलन गरिएको थियो ।संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भूकम्पबाट कम प्रभावित जिल्लामा समेत पुनःनिर्माणको काम सुरु गरेपनि जिल्लामा पुनः लगत सङ्कलन गरिएको हो ।

पहिलो चरणमा लगत सङ्कलन र त्यसपछि पुनः निर्माणको काम थालिनेछ । चितवनलगायत १७ जिल्लामा लगत सङ्कलन थालिएको छ । अहिले यसरी लगत सङ्कलन हुने जिल्लामा चितवनलगायत लम्जुङ, तनहुँ, खोटाङ, स्याङ्जा, पाल्पा, बाग्लुङ, गुल्मी, सोलुखुम्बु र कास्की छन् । यस्तै, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र सङ्खुवासभामा पनि पुनःनिर्माणको काम थालिएको जनाइएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट