करिब रु ६ करोडको लागतमा पुल बन्ने

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार

मोरङ, २२ मंसिर । विराटनगर उपमहानगरपालिका र बैजनाथपुर गाविस जोड्ने गरी सिङ्घिया खोलामा निर्माण गरिन लागेको पक्की पुलको मङ्गलबार शिलान्यास गरिएको छ । पूर्वअर्थमन्त्री तथा सांसद महेश आचार्यले पुलको शिलान्यास गरेका हुन् । पुल निर्माण भएपछि बैजनाथपुर, झोराहाट, खुनियाकटाका बासिन्दाले सुविधा पाउने र सवारी आवतजावतमा समेत सहज हुने बताइएको छ ।

रु पाँच करोड ७९ लाख ७५ हजारको लागतमा कार्कीबन्धु जेभीले सो पुल निर्माण गर्ने ठेक्का पाएको छ । विसं २०७५ वैशाख ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरिएको छ । यसभन्दा अगाडि उक्त स्थानमा रहेको जीर्ण काठेपुल हटाएर पक्कीपुल बनाउन लागिएको हो । कार्यक्रममा सांसद भुटनीदेवी खवास, नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति विनोद बस्नेत, विराटनगर नगर सभापति भीम पराजुली, महासमिति सदस्य विश्वनाथ रिजाल, तरुणदलका सभापति प्रभाकर थापालगायतको सहभागिता थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट