राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
पोखरा, २२ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २३ देखि पुस ४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्रमा हुन गइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । ‘लगानीको संवद्र्धन, उद्योग व्यवसायको प्रवद्र्धनलाई कायम राखौँ’ भन्ने मूलनाराका साथ आयोजना गरिन लागेको मेलामा अत्याधुनिक डोम ९ गुम्बजमा निर्मित विशेष प्रकारका ७८ वटासहित दुईसय ९५ वटा स्टल बनाइएका छन् ।

सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य तथा हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनको प्रवद्र्धन र बजारीकरणमा सघाउ पु¥याउनु मेलाको उद्देश्य रहेको छ । मेला अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि विभिन्न होटल र रेस्टुरेन्टले विशेष छुटको व्यवस्थासमेत गरेको संघद्वारा मङ्गलबार आयोजित पत्रकारसम्मेलनमा संघका अध्यक्ष विश्वशङ्कर पालिखेले जानकारी दिए । मेलाको थप आकर्षण तर्फ पिसिसिआई गायन तारा, लोकदोहोरी, फेसन सो, बडी बिल्डिङ, अन्तर्राष्ट्रियस्तरका रेस्लरको कुस्ती प्रदर्शन, नेपालका ख्यातिप्राप्त ब्यान्डको साङ्गीतिक कार्यक्रम, लोकनृत्य, बाल उद्यान तथा हास्य कलाकारका मनोरञ्जनात्मक कार्यक्रम छन् । गायन तारामा प्रथम हुनेले रु एक लाख र द्वितीय हुनेले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । मेलामा रु एक करोड १० लाख आम्दानी हुने र रु ९० लाख खर्च भई करिब रु २० लाख बचत हुने संघका अध्यक्ष पालिखेले बताए । मेलाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट