संविधान संशोधन प्रस्ताव पारित हुन्छ : गृहमन्त्री निधि

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

चितवन, २२ मंसिर । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित हुने विश्वास व्यक्त गरेका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने – संविधान संशोधन प्रस्तावको पक्षमा मधेसी मोर्चा आइसकेकोले मतदानमा सहभागी हुन्छ ।

संशोधन प्रस्ताव पारित नभए के हुन्छ भन्ने पत्रकारको प्रश्नमा उपप्रधानमन्त्री निधिले भने “प्रस्ताव पारित हुन्छ । नागरिकता, भाषा, सीमा, राष्ट्रियसभालगायतका विषयमा संशोधन आवश्यक भएकाले सरकारले संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको हो ।” प्रस्ताव संसद्मा पेस भएपछि विशेष समितिमार्फत छलफल अगाडि बढाइने र परिमार्जन गरेरै भए पनि संशोधन प्रस्ताव पारित गराइने उनले स्पष्ट पारेका छन् । संशोधन प्रस्ताव राष्ट्रघाती छ भन्ने आरोपको खण्डन गर्दै मन्त्री निधीले भने – “केपी ओलीले प्रस्ताव गर्दा राष्ट्रघाती नहुने, हामीले प्रस्ताव गर्दा राष्ट्रघाती हुने ?” यो एमालेको राजनीतिक बेइमानी छ । एमाले अध्यक्ष ओली प्रधानमन्त्री रहेकै बेलामा पहाडी जिल्ला ४ नम्बर र ६ नम्बर प्रदेशमा तथा तराईका जिल्ला ५ नम्बर प्रदेशमा राख्ने टुङ्गो लगाइएको उनले बताए ।

उपप्रधानमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् अवरोध हटाएर संविधान संशोधन प्रक्रिया अगाडि बढ्न दिनुपर्नेमा जोड दिदैं “संविधान संशोधन प्रक्रिया छिटो अगाडि बढोस् भन्ने हामी चाहन्छौँ” भने । “एमालेले संसद् अवरोध हटाएर संसदीय प्रक्रिया अगाडि बढाउन सहयोग गर्नुपर्छ” उनले भने – पुरानै इलाकाको आधारमा वा पुरानै गाविसलाई गाउँपालिकामा रुपान्तरण गरेर स्थानीय निकायको चुनावमा जाने तयारीमा सरकार रहेको छ । उपप्रधानमन्त्री निधिले “स्थानीय निकायको चुनाव चैतभित्रै गर्ने तयारीमा सरकार जुटेको छ भने ।” त्यस्तै नेपाली काँग्रेस भेलालाई सम्बोधन गर्दै उनले संविधान संशोधन प्रस्ताव पारित भएर स्थानीय निकायको निर्वाचन प्रक्रियामा जाने हुँदा त्यसका लागि तयारीमा रहन कार्यकर्तालाई निर्देशन दिए । उनले भने “स्थानीय तहमा काँग्रेसको जित हुनुपर्छ, त्यसका लागि जिल्लादेखि गाउँ तहसम्म तपाईहरु केन्द्रीत हुनुहोस् ।”


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट