हरियो वन कार्यक्रमबारे अध्ययन सुरु

प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
धनगढी, २२ मंसिर । कैलाली जिल्लामा वन विनास, वन क्षयीकरणका कारण र जैविक विविधतालाई पर्ने खतरालगायतका विषयमा हरियो वन कार्यक्रमले पारेको प्रभावबारे अध्ययन सुरु गरिएको छ । हरियो वन कार्यक्रमले पारेको प्रभाव एवम् देखिएको नतिजाका बारेमा यसमा सरोकार राख्ने स्थानीय समुदाय, राजनीतिक दलका प्रतिनिधि, उपभोक्ता समूहका पदाधिकारी, वन कर्मचारीलगायतकाबीच छलफल गरेर अध्ययन थालिएको हो ।

यसैक्रममा आज यहाँ आयोजित गोष्ठीमा सहभागीले हरियो वन कार्यक्रम सञ्चालनबाट डढँेलो तथा चोरी सिकारी नियन्त्रणमा भएका प्रयास, वन्यजन्तुको संरक्षणसम्बन्धी क्रियाकलाप, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका प्रयासलगायतका बारेमा सुझाव दिएका छन् ।

कार्यक्रममा परामर्शदाता श्यामप्रसाद शर्मा र अनुसन्धानकर्ता रामु जोशीले गोष्ठीको औचित्यमाथि प्रकाश पारेका थिए । गोष्ठीमा जिल्ला वन अधिकृत रमेश चन्दले जिल्ला वनसँग समन्वय गरी वनसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

हरियो वन कार्यक्रम कैलालीको कर्णाली करिडोर र मोहना लालझाडी क्षेत्रमा कार्यान्वयन भएको जनाइएको छ । विश्व वन्यजन्तु कोषको सहयोगमा सञ्चलित यो कार्यक्रमअन्तर्गत भएका गतिविधि र परेको प्रभावका बारेमा कैलालीलगायतका अन्य जिल्लामा समेत अध्ययन गर्न लागिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट