नगर प्रहरीको रासन भत्तामा विभेद

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
ललितपुर, २१ मंसिर । ललितपुर उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीले रासन भत्तामा आफूहरूलाई विभेद भएको गुनासो गरेका छन् । नगर प्रहरीलाई नेपाल प्रहरीसरह नै रासन भत्ता उपलब्ध गराउने व्यवस्था भएपनि उपमहानगरपालिकाले भने आय स्रोत पर्याप्त नभएको भन्दै प्रहरी÷सेनाभन्दा झन्डै रु एक हजार कम रकम नगर प्रहरीलाई दिँदै आएकाले उनीहरूले यस्तो गुनासो गरेका हुन् ।

नेपाल प्रहरीको रासन भत्ता रु पाँच हजार २०० छ । ललितपुरमा कार्यरत नगर प्रहरीको भत्ता रु चार हजार २०० छ । पहिले रु तीन हजार २०० भत्ता भएकामा चार महिना पहिले रु एक हजार बढाइएको थियो, तर काठमाडौं महानगरपालिकाले भने रासन भत्ता नेपाल प्रहरी समान गरेको छ ।

नगरपालिकाका सूचना अधिकारी रुद्र गौतमले नगरपालिकाको स्रोत साधनअनुसार नै कर्मचारीलाई सुविधा दिइने बताए । नगर प्रहरीको तलब नगर परिषद्ले नै निर्णय गरेको थियो । उनले भने – “भत्ता कम भए कर्मचारीले प्रक्रियागत रूपमा माग अघि बढाउनु पर्छ ।”


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट