पुरुषको तुलनामा महिला आवेदक बढी

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, २१ मंसिर । लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिला आवेदक बढी हुने गरेको छ । आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराईन ।

गत आव २०७२÷०७३ मा कुल १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ उम्मेदवारमध्ये ५३.५ प्रतिशत महिलाको आवेदन पर्ने गरेको उनले जानकारी गराईन् । कुल आवेदनमध्ये तीनलाख १८ हजार ५०३ महिला र दुई लाख ७५ हजार ८७७ पुरुषको पर्ने गरेको छ । पुरुषको भने ४६.५ प्रतिशतले आवेदन दिने गरेका छन् । महिलाको पद बढी खुल्ने र खुला तथा आरक्षण दुवैमा दिन पाउने भएकाले सङ्ख्या पुरुषको भन्दा बढी भएको सूचना अधिकारी समेत रहेका हुमागाईंले जानकारी गराईन् । “महिला जुनसुकै पदमा पनि आवेदन दिन पाउँछन्” उनले भनिन्– “स्टार्फ नर्स, अनमी र सहायक महिला विकास निरीक्षक जस्ता पद महिलाका लागि मात्र छन् ।” उनका अनुसार आयोगमा आव २०७१÷०७२ देखि महिलाको पुरुषकोभन्दा बढी आवेदन पर्ने गरेको छ ।

महिलापछि अहिले आयोगमा मधेसी र पिछडिएका क्षेत्रको सहभागिता पनि बर्सेनि वृद्धि हुने गरेको उनले जानकारी गराईन् । तर उम्मेदवार छनोटमा भने पुरुषको बढी रहेको छ । आवेदन दिएकामध्ये ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला उम्मेदवार नियुुक्तिका लागि छनोटमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगमा आवेदन सबभन्दा बढी मध्यमाञ्चल विकास क्षेत्रबाट २८.८ प्रतिशत र कम सुदूरपश्चिमबाट ९.६ प्रतिशत पर्ने गरेको छ । पूर्वाञ्चलबाट २४ प्रतिशत, पश्चिमाञ्चलबाट २० प्रतिशत र मध्यपश्चिमाञ्चलबाट १६.९ प्रतिशत आवेदन पर्ने गरेको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट