बाल्टीमै दिसापिसाब गर्न बाध्य कैदी

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
रोल्पा, २१ मंसिर । जीर्ण भइसकेको जिल्ला कारागार कार्यालय, रोल्पाको बन्दीगृहमा क्षमताभन्दा दोब्बर कैदीबन्दी थुनिएका छन् । ससाना कोठा, साँघुरो गल्ली र उस्तै सानो आँगनमा कैदीबन्दीलाई साँच्चिकै सास्ती भएको उनीहरूले बताए । हामीलाई सबैभन्दा चर्पीको समस्या छ बन्दीगृहबाट थुनामा रहेका हुकुम बूढाले भने ।

दिनभरि चर्पीमा दिसापिसाब गरेपनि राति कोठामा बाल्टी राखेर पालैपालो दिसापिसाब गर्नुपर्छ । एक त कोचिएर बस्नु त्यसमा पनि गन्हाएर बसी नसक्नु हुन्छ । साथै, हामीले भित्रै बसेर पनि केही सीपमूलक काम गर्नका लागि खुल्ला ठाउँ छैन । कपडा सुकाउन घाम ताप्न पनि उत्तिकै गाह्रो छ उनले भने । यस्तै, बन्दीगृहमै थुनामा रहेका हरिप्रसाद वलीका अनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म कोठाको ढोका थुनिएपछि चर्पी जान मिल्दैन, यसरी कोठा बन्द हुँदा बाल्टीमै दिसापिसाब गर्न बाध्य छौँ । कहिलेकाहीँ बाल्टी भरिँदा सुरक्षाकर्मीको सहयोगमा चर्पीको ढोका खोल्न लगाई बाल्टी खाली गर्दै आएका छौँ ।

विसं २०२९ मा स्थापना भएको कारागारमा जम्मा ५० जनाको क्षमता भएको भएपनि हाल ९१ जना कोचिएर बस्न बाध्य भएको उनीहरूको गुनासो छ । कारागारमा महिलाका लागि छुट्याइएका दुईवटा कोठामा तीन नाबालक र १२ जना महिला गरी जम्मा १५ जना छन् भने पुरुषका लागि छुट्याइएका आठवटा कोठामा ७६ जना बस्दै आएको प्रहरी सहायक निरीक्षक कुलबहादुर रावतले जानकारी दिए । उनका अनुसार ८५ जना जसोतसो कोचाकोच गरेर बसेको अवस्थामा जिल्ला कारागार कार्यालय सल्यानबाट थप छ जना स्थानान्तरण भएर रोल्पा कारागारमा आएसँगै उनीहरूलाई थप समस्या भएको छ ।

यता कारागार कार्यालय रोल्पाका प्रमुख प्रदीपकुमार रेग्मी भने सल्यानबाट स्थानान्तरण भएर रोल्पा ल्याइएका कैदीलाई दाङमा पठाउने कुरा भएको तर दाङले स्वीकृति नदिएको हुँदा आफूले स्वीकृति दिएको बताउछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट