नेपालको राजनीतिक समस्याको हल नेपालीले गर्ने : एमाले

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, २१ मंसिर । नेपालको आन्तरिक राजनीतिक समस्याको हल नेपालीले नै गर्ने हो, विदेशीले होइन बताउँदै एमालेले विदेशी शक्तिको राजनीतिक चलखेल आफूलाई स्वीकार्य नहुने बताएको छ ।

सोमबार अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले सबै पक्षसँग त्यस्तो हस्तक्षेप नगर्न अपिलसमेत गरेको छ । ‘नेपालको आन्तरिक मामलामा अनावश्यक हस्तक्षेप गर्ने र जनता भड्काउने काम कसैले पनि गर्नुहुँदैन,’ एमाले प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘नेपालको आन्तरिक राजनीतिक समस्याको हल नेपालीले नै गर्ने हो, विदेशीले होइन ।’ नेपालको संविधान संशोधनको विषयमा काठमाडौंस्थित भारतीय दूतावास सक्रिय भइ ‘अनावश्यक हस्तक्षेप’ गरेको भन्दै एमालेले त्यस्तो निर्णय गरेको बताइएको छ । एमालेले अब देशका प्रमुख सहरहरूमा पनि व्यापक प्रदर्शन गर्ने तयारी गरेको भट्टराईले बताए । ‘हामीले आन्दोलनलाई थप प्रभावकारी बनाउने निर्णय गरेका छौँ,’ भट्टराईले भने, ‘अब मुलुकका प्रमुख सहरहरूमा देशव्यापी प्रदर्शनी गरिनेछ ।’

त्यस्तै सत्तापक्षका दलहरूले एमालेलाई मुलुकका विभिन्न स्थानहरूमा राजनीतिक सभा गर्न रोक लगाउने र पार्टीका कार्यालय तोडफोड गर्ने जस्ता काम गरेको आरोप लगाउँदै त्यस्ता कार्य तुरन्तै रोक्न सरकारलाई सचेत गराएको छ । ‘सत्तापक्षका दलहरूले गरेका त्यस्ता कार्यले पार्टीको ध्यानाकर्षण भएको छ,’ भट्टराईले भने, ‘यस्ता कार्य सत्तापक्षद्वारा तुरन्तै रोकियोस् ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट