महको उत्पादन घट्दो

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
दाङ, २१ मंसिर । महका लागि प्रख्यात दाङ जिल्लामा पछिल्लो समयमा मह उत्पादन घट्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतका अनुसार जिल्लामा आव ०७१÷७२ मा ७ हजार ६ सय ५२ माहुरीको गोलाबाट २ सय ३४ मेट्रिक टन मह उत्पादन भएको थियो । त्यसैगरी गत आव ०७२÷७३ मा ११ हजार १ सय ५२ गोलाबाट ८९ दशमलव २१ मेट्रिक टन मह उत्पादन भएको थियो । चालु आव ०७३÷७४ को कात्तिक मसान्तसम्ममा १२ हजार ७ सय १० गोलाबाट ६६ दशमलव ४६ मेट्रिक टन मह मात्र उत्पादन भएको बस्नेतले बताए । जिल्लामा उन्नत जातका माहुरीका १० हजार ५ सय ३२ वटा आधुनिक घार र २ हजार १ सय ७८ स्थानीय जातका माहुरीका घार रहेका छन् ।

कृषि विकास कार्यालयका अनुसार यसवर्ष उन्नत जातको माहुरी प्रतिगोलाबाट ६ किलो मह उत्पादन भएको छ भने स्थानीय माहुरीको प्रतिघारबाट १ दशमलव ५ किलो मह उत्पादन भएको छ । जिल्लामा चरन क्षेत्रको अभाव र आधुनिक औजारहरू उपलब्ध नहुँदा मह उत्पादनमा कमी आएको कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समयमा तोरी खेती हुने क्षेत्र घट्दै जानु, तोरी ढिलो पूmल्नु र चिउरीको फूलमा पुष्प कम भएका कारण मह उत्पादनमा कमी आएको बाली संरक्षण अधिकृत बस्नेतले बताए । जिल्लामा १८ हजार हेक्टरमा तोरी खेती हुने गरेको कार्यालयको तथ्यांक छ । माहुरीको वंश पुरानो हुँदै गएकोले पनि मह उत्पादन घटेको हुन सक्ने बस्नेतको भनाइ छ ।

माहुरी चराउनका लागि बाहिरी जिल्लाबाट समेत बर्सेनि दाङमा माहुरी ल्याउने गरिएको छ । जिल्लाका रामपुर, लक्ष्मीपुर, घोराही नगरपालिकाको माथिल्लो भाग, हापुर, धर्ना गाविस चरनका लागि उपयुक्त क्षेत्र मानिन्छन् । जिल्लामा उत्पादन भएको महमध्ये ८० प्रतिशत बाहिर जाने गरेको छ । हाल यहाँ उन्नत जातको मह प्रतिकिलो ३ सय रुपैयाँ र स्थानीय माहुरीको मह प्रतिकिलो १ हजार रुपैयाँमा बिक्री हुने गरेको छ । यहाँको मह नेपालगञ्ज, बुटवल, पोखरा, काठमाडौंलगायत सहरमा बिक्री हुने गर्दछ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट