बिक्री भएन अलैँची

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार
गोरखा, २१ मंसिर । अलैँची उत्पादन हुने जिल्लाको रूपमा पहिचान बनाएको गोरखामा यस वर्ष अलैँची बिक्रि नहुँदा किसानहरूलाई पिर पर्न थालेको छ । भनेजस्तो अँलैचीले भाउ नपाएपछि किसानहरू चिन्तित भएका हुन् । विगत वर्षहरूमा किसानका घरघरै आएर व्यापारीले अलैँची किन्ने गरेकामा यसवर्ष अलैँची तयार भइसके पनि व्यापारी नआएपछि किसानहरूमा पिर थपिएको छ ।

गोरखाको हंशपुर, खरिबोट, थालाजुङ, मुच्चोक, केराबारीलगायत गाविस अलैँचीको पकेट क्षेत्र मानिए पनि उत्पादन भएको अलैँची बिक्री नभएको हंशपुर–४ का विष्णुहरि अधिकारी बताउँछन् । उनले भने, ‘गतवर्ष विभिन्न क्षेत्रबाट व्यापारी आएर अलैँची लिएर जान्थे अहिले कोही आएका छैनन् ।’ गतवर्ष पूर्वी नेपालको झापा, इलामलगायत क्षेत्रबाट आउने व्यापारीले स्थानीय व्यापारीसँग मिलेर अलैँची खरिद गर्दै आएका उनले बताए । भूकम्पले जमिनको माटो हल्लाएको र चिस्यान हराउँदै गएकाले गतवर्षको तुलनामा यसवर्ष अलैँचीको उत्पादन घटेको सम्बद्ध किसान बताउँछन् । अलैँची उत्पादन बढदै गएको र प्रतिकेजी मूल्य बर्सेनि बढेपछि किसानले धान फल्ने खेत मासेर अलैँची खेती विस्तार गरेका थिए ।

गतवर्ष असोज, कात्तिकमै व्यापार हुने गरे पनि थोरै अलैँची फलेको यसवर्ष भने मंसिर तेस्रो हप्ता बितिसक्दा पनि अलैँचीको बिक्री हुन नसकेको किसान अंगराम दवाडीले बताए । उनले भने, ‘बोरामा अलैँची थुपारेका छौँ, अझै बिक्री भएको छैन ।’ गतवर्ष अलैँची प्रतिकिलो २ हजार २ सय ५० मा बिक्री भएकामा अहिले व्यापारीले प्रतिकिलो जम्मा १ हजार ५ सय मात्र दिएपछि अलैँची बिक्री नगरेको अर्का किसान सीता अधिकारीले जानकारी दिए । हंशपुर–९ का किसान किरण प्रधानले यसवर्ष अलैँचीको उत्पादनमा कमी आएको जानकारी दिए । उनले भने, ‘गतवर्ष १ क्विन्टल अलैँची बिक्री गरेको थिएँ, यसवर्ष २५ केजी मात्र उत्पादन भएको छ ।’ किसानले गतवर्ष अलैँची बिक्री गरी ६ करोड रुपैयाँ गाउँमा भित्र्याएका थिए । गोरखामा उत्पादन हुने अलैँची रामशाही जातको हो । उत्पादन भएको अलैँची बिक्री गर्न जिल्ला कृषि विकास कार्यालयले कुनै पहल नगरेको किसानहरूको गुनासो छ ।

कार्यालय प्रमुख यमकुमार श्रेष्ठले गतवर्ष अलैँची बिक्री वितरणमा कुनै पनि समस्या नरहेको हुँदा यसवर्ष पनि ढिलोचाँडो बिक्री हुने दाबी गरे । उनले अलैँची बिक्रीका लागि कार्यालयले किसान र व्यापारीबीच सम्बन्ध गर्ने काममा लागेको स्पष्ट पारे । श्रेष्ठले केही वर्षदेखि जिल्ला कृषि कार्यालयले अलैँचीको बेर्ना अनुदानमा उपलब्ध गराइरहेको बताए । उनले भूकम्पपछि पानीका मुहान सुकेको, चिस्यान हराएको र ढुसीजस्ता रोगको संक्रमणले अलैँचीको उत्पादन घटेको बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट