क्रान्तिकारी युगपुरुष फिडेल क्यास्ट्रो

प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

लोकनारायण सुवेदी

बिसौँ शताब्दीको उत्तराद्र्धदेखि विश्व राजनीतिक रंगमञ्चमा प्रभावकारीरूपमा छाएका क्रान्तिकारी नेता कमरेड फिडेल क्यास्ट्रोको निधन वास्तवमा एक युगको अन्त्य हो । आफू राजनीतिकरूपमा सक्रिय रहेको त्यो कालखण्डभरी एकजना महाकाय व्यक्तित्वले विश्व महत्वका सबै विषयहरूका बीच तीव्र गतिमा कदम अघि बढाउँदै हिँडेको देखिन्थ्यो । यस प्रक्रियामा क्यास्ट्रोले एकछिन पनि एकजना क्रान्तिकारी कम्युनिस्टको नाताले मानवताको पूर्ण मुक्ति र स्वतन्त्रताका लागि काम गर्ने लक्षलाई आफ्नो आँखाबाट पटक्कै ओझेल हुन दिएनन् । हुन त अब क्यास्ट्रो सशरीर हाम्रा बीचमा छैनन् तैपनि उनी विश्वभरी नै संघर्षशील मानवताको विराट बहुमतका लागि सदा सर्वदा एउटा उच्च प्रेरणाको श्रोत बनिरहनेछन् । यस्तो प्रेरणाको श्रोत उनी बनिरहनु पर्ने आधार के छ भने फिडेल क्यास्ट्रोले एउटा पिछडिएको, बागवानी(हर्टिकल्चर)मा आधारित झन्डैझन्डै दास–अर्थव्यवस्था भएको क्युबाली समाजलाई एउटा आधुनिक समाजवादी देशकारूपमा रूपान्तरण गर्ने महत्वपूर्ण बाटो देखाए र रूपान्तरण गराएका थिए । यो प्रेरणा यस तथ्यमा आधारित छ कि उनले यो कुरा सम्भव तुल्याए । फिडेल क्यास्ट्रोको नेतृत्वमा क्युबाले मानव विकासको क्षेत्रमा निर्विवाद किसिमले प्रसंशनीय परिणाम खडा गरेर देखाए । जस्तो कि जाति या नश्लवादको अन्त्य, नारी मुक्ति, निरक्षरता उन्मूलन, शिशु मृत्यु दरमा कमी, सामान्य ज्ञानको उच्च स्तर कामय गर्नु आदि । शिक्षा, स्वास्थ्य, चिकित्सा, अनुसन्धान तथा खेलकुदका क्षेत्रमा क्युबाले जुन हैसियत विश्वमा हासिल ग¥यो त्यससँग विभिन्न विकसित देशहरू हिजो ईष्र्या गर्ने गर्दछन् ।

हुन पनि क्युबाले यी सबै कुरा जघन्यतम् साम्राज्यवादी नाकाबन्दी तथा घेराबन्दीलाई चूनौति दिँदै र दृढतापूर्वक त्यसको सामना गर्दै हासिल ग¥यो । यस क्रममा क्यास्ट्रोले अमेरिकाका राष्ट्रपति आइजहावरदेखि लिएर बुश द्वितीयसम्म पूरै १० जना राष्ट्रपतिहरूसँग निरन्तर लड्नुपरेको थियो । त्यस क्रममा उनको हत्या गर्ने कोशिस पनि दुई÷चारपटक होइन, पूरै ६ सयपटक भएको थियो । अमेरिकी साम्राज्यवादद्वारा क्युबाविरुद्ध छेडिएको आर्थिक युद्ध र क्युबालाई नष्ट गर्नका लागि गरिएका तोडफोडकारी सबै हर्कतहरूलाई सफलतापूर्वक विफल तुल्याउनमा क्यास्ट्रोले क्युबाको दृढतापूर्वक र सफल नेतृत्व गरे । यी यर्थाथ कुरालाई अमेरिकी गुप्तचर संस्था सिआइएका पूर्वएजेन्ट फिलिप एगीले अत्यन्तै राम्रोसँग दस्ताबेजबद्ध गरेका छन् । जस्तोसुकै विषम परिस्थितिमा पनि बडो निष्ठापूर्वक काम गर्ने क्यास्ट्रो वास्तवमा सबै क्रान्तिकारी शक्तिहरूको यसरी प्रेरणका श्रोत बनेका हुन् । निश्चय नै उनले आफ्नो जीवन र कार्यले के स्पष्ट देखाए भने एउटा कम्युनिस्ट क्रान्तिकारीले आफ्नो जीवनको अन्तिम घडीसम्म कसरी व्यवहारबाट सिक्दछ र निरन्तर अघि बढ्दछ । क्यास्ट्रोले १९५३ मा क्युबाको घृणित तानाशाह बाटिस्टाको अमेरिकी कठपुतली शासन सत्ताविरुद्ध क्युबाको सामाजिक रूपान्तरणका लागि छापामार लडाकुहरूको एउटा समूह खडा गरेर त्यसको नेतृत्व गरेका थिए । तर, त्यो क्रान्तिकारी प्रयत्न असफल भएको थियो । बाटिस्टाको सत्ताले उनलाई काराबासको सजाय दियो । त्यस सिलसिलामा उनीमाथि चलाइएको मुद्दाका क्रममा क्युबा र क्युबाली जनताका लागि क्यास्ट्रो के चाहन्छन् भन्ने उनले प्रष्ट र विश्वासपूर्ण के भविष्यवाणी गरेका थिए भने चाहे उनलाई जे जस्तो सजाय दिइयोस् त्यसले कुनै फरक पार्दैन, इतिहासले उनलाई अन्ततः सही सावित गर्नेछ । साच्चै नै वास्तवमा इतिहासले उनलाई सम्मान ग¥यो र सही सावित गरि छाड््यो ।

त्यो भविष्यवाणीको ६ वर्षपछि नै १९५९ को पहिलो जनवरीका दिन फिडेल र उनको क्रान्तिकारी दस्ताले जसमा चे गुएभारा तथा अन्य कयौँ प्रसिद्ध क्रान्तिकारीहरू पनि संलग्न थिए, तानाशाह बाटिस्टाको सेनालाई परास्त गरे र क्युबालाई समाजवादी रूपान्तरण गराउने बाटो तयार गरिदिए । जुन दिन बाटिस्टाको सेनालाई पराजित गरेपछि विजयी बनेका ३२ वर्षीय फिडेल क्यास्ट्रोले हवानामा मार्च गरे त्यसै दिन फ्रान्समा पाँचौँ गणराज्यका पहिला राष्ट्रपतिका रूपमा चाल्र्स दे गाललाई शपथ खुवाइँदै थियो । बृटेन तथा थाइल्यान्डका राजा तथा रानीहरूले नै शासकको आफ्नो कर्ममाण्डीय औपचारिक ताजलाई क्युबामा फिडेल क्यास्ट्रोको नेतृत्वभन्दा बढी समयसम्म कायम राखे होला । तर, वास्तवमा क्यास्ट्रो आफ्नो देश र जनताको सेवामा निरन्तर लाग्ने नेता थिए जसले दृढतापूर्वक समाजवादी क्युबाको हिफाजत गरेका थिए र त्यसलाई सुदृढ तुल्याएका थिए । फिडलेका जीवन र कार्यमा जुन अर्को एउटा कम्युनिस्ट क्रान्तिकारीको निशाना हामीले देख्न सक्तछौँ त्यो हो यस अनुलंघनीय लेनिनवादी सिद्धान्तलाई लागू गर्ने उनको अनथक प्रयास कि द्वन्द्ववादको सार– ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ हो । सोभियत संघको पराभावको असंदिग्धरूपले क्युबाको अर्थव्यवस्था र क्युबाली समाजवादलाई अत्यन्तै पंगु बनाउने किसिमले प्रहार गरेको थियो । विश्वमा बहुत कमै मानिस रहे होलान् जसलाई यसमाथि अलिकति पनि भरोसा र विश्वास थियो होला कि समाजवादी क्युबाले यो अपूर्व धक्कालाई झेल्न सक्नेछ । त्यतिबेला अन्तर्राष्ट्रिय समाचारपत्र ‘टाइम’ले त यस सम्बन्धमा आफ्नो कभर पेजमै फिडेलको एउटा तस्बीर छापेर के क्याप्सनसमेत राखेको थियो भने ‘क्यास्ट्रोको क्युवा ः एउटा सपनाको अन्त्य’ । हुन पनि सोभियत संघको विघटनपछि त्यो संघमा मात्र आयातमा बढी भर परेको क्युबाली अर्थतन्त्रले नयाँ बाटोको खोजी गर्नु नै पर्ने थियो । त्यो बाटोको निर्णायक खोजी पनि कमरेड क्यास्ट्रोले नै गरेका हुन् । सोभियत संघको विघटन र विखण्डनपछि एकाएक आयात बन्द भएर हाहाकारको अवस्थामा परेको क्युवा खासगरी तेलको आयात बन्द हँुदा पंगु जस्तै बनेको थियो । त्यसले गर्दा वास्तवमा समाजवादी क्युबाको चक्का झन्डै जाम भई नै सकेको थियो । तर क्यास्ट्रोले त्यसबाट बाहिर निस्कने वैकल्पिक बाटोको खोजी गरेका थिए र त्यसमा सफलता पनि हासिल गरे ।

अमेरिकी साम्राज्यवादको अमानवीय र आपराधिक नाकाबन्दीले गर्दा क्युबालाई अरू देशहरूसँग व्यापारी कारोबार गर्ने बाटो अवरुद्ध बनेको थियो । त्यस अवस्थामा क्युबालाई आर्थिकरूपले आत्मनिर्भर बनाउन र त्यसलाई सुनिश्चित तुल्याउन आफ्नै किसिमको बाटो अबलम्बन गर्नैपर्ने थियो । हुन पनि त्यतिबेलासम्म क्युबा ‘एक–बाली अर्थव्यवस्था’ जस्तै बनेको थियो र प्रायः पूर्णरूपमा ऊखु उत्पादन खेतीमा निर्भर रहेको थियो । त्यस्तो अवस्थामा फिडेल क्यास्ट्रोका मानिसहरू जसलाई ‘रेड डस्ट’ भनिन्छ तिनले अमेरिकी नाकाबन्दी र चौतर्फी घेराउको सामना गर्दै बन्धु ल्याटिन अमेरिकी राष्ट्रहरूकासाथ आर्थिक सम्बन्ध बढाउने, विस्तारगर्ने, आर्थिक विकल्पतिर अग्रसर भएर अर्थतन्त्रलाई बचाउने र अघि बढाउने बाटो लिए । आर्थिक मात्र होइन क्युबामा सोभियत संघ विघटनको असर अरू विभिन्न क्षेत्रमा परेको थियो । त्यसको सही किसिमले सामना गर्न र क्रान्तिलाई बचाउन त्यहाँको प्रतिभाशाली जनता जो बढ्दो संख्यामा एकजुट, शिक्षित र लडाकु पनि छन् तिनको समर्थनमा सफलता हासिल गर्न कम्मर कसेर क्युबा क्यास्ट्रोको विश्वासिलो नेतृत्वमा रातोदिन लागेको थियो र सफल भयो पनि । अनि अन्त्यमा स्वेच्छाले राष्ट्राध्यक्षको जिम्मेवारी २००८ मा र पार्टी प्रमुखको पनि जिम्मेवारी २०११ मा छोडेर आपूmभन्दा कनिष्ठलाई सुम्पेपछि पनि फिडेलले ‘रिफ्लेक्सन’ को माध्यमले प्रायः जबैजसो महत्वपूर्ण घटनाक्रमहरू जुन आन्तरिक र बाह्य पनि थिए, मा आफ्नो रायसल्लाह दिने काम गर्न छाडेनन् । वास्तवमा एउटा साँचो सत्यनिष्ठ क्रान्तिकारी भएको नाताले फिडेलको दिलचस्पी र सोचाइको दायरा अत्यन्तै विस्तृत थियो । विज्ञान तथा प्रविधिका सबैभन्दा पछिल्ला विकसित प्रगतिहरूदेखि लिएर सौन्दर्यशास्त्रसम्म अनि धर्म एवं ईश्वर र मानिसको सम्बन्धसम्मका जटील विषयमा निक्कै आश्चर्यलाग्दो रूपमा उनले गहिरो चाख राख्दथे र अध्यययन गर्ने, चर्चा गर्ने क्षमता राख्दथे र चर्चा गर्ने गर्दथे भन्ने जानकारहरू उल्लेख गर्दछन् । हुन पनि यही उनको बहु विषयक ज्ञान र जानकारीका कारणले समेत उनलाई सधैँ नै एउटा चुम्बकीय व्यक्तित्व पनि बनायो र त्यसलाई कायम पनि राख्यो ।

भनिन्छ यो उनको महान् बौद्धिकताको नै प्रमाण हो कि उनले आफ्नो समयका कतिपय उच्च सिर्जनात्मक विश्व प्रतिभाहरूसँग आफ्नो निजी संवाद पनि चलाउने गरेका थिए । त्यसरी उनले संवाद चलाएका व्यक्तित्वहरूको सूचीमा यस्तो विभिन्न बौद्धिक प्रतिभाका अतिरिक्त अर्नेष्टो हेमिंगवे, ज्या पाल सात्र, साइमन द बुवा, पाब्लो नेरुदा, ग्राबिएल गार्सिया मार्खेज, खोसे सारामागोजस्ता विश्व चर्चित विभिन्न प्रतिभाहरू थिए । वास्तवमा फिडेलेको यही गुणको प्रभाव थियो कि सम्पूर्ण ल्याटिन अमेरिकामा साम्राज्यवाद विरोधी लोकप्रिय संघर्षहरूलाई ऊर्जा प्रदान गर्नमा फिडेल र क्युबाली क्रान्तिले धुरीको काम गरेको थियो । यसप्रकार क्युबामा आन्तरिकरूपमा र बाह्यरूपमा जन दुष्मनहरूसँग निरन्तर संघर्ष गर्दै रहनुपर्ने बाध्यता रहेको र लडिरहेको भए पनि फिडेलले कुनै क्षण पनि सर्वहारा अन्तर्राष्ट्रवादका आधारभूत कम्युनिस्ट सिद्धान्तलाई आफ्नो आँखाबाट ओझेल पर्न किमार्थ दिएनन् । क्युबाका चिकित्सकहरू, शिक्षकहरू तथा सैनिकहरूले लामोलामो दुरी पारगरेर अफ्रिकामा अन्तर्राष्ट्रिय मिसनहरू सफलतापूर्वक चलाए । त्यस क्रममा दक्षिण अफ्रिका, नामिबिया, जाम्बिया, मोजाम्बिक तथा अन्य विभिन्न देशहरूमा आफ्नो मुक्तिका लागि लडिरहेका जनतालाई क्युबाले मद्दत पु¥याएको थियो । यसरी कमरेड फिडेल क्यास्ट्रोको जीवन र कार्य के कुराको गौरवय प्रमाण हुन् भने एउटा कम्युनिस्ट क्रान्तिकारी एक उच्च कोटीको असल मानिस हुने गर्दछन् । तिनीहरू हाहाहुुहुमा चल्दैनन् । उच्च ज्ञान, दूरदर्शिता र तदनुकूलको ठोस् व्यवहार नै तिनको आचरण हुने गर्दछ । क्युबाली क्रान्तिका महानायक क्यास्ट्रोलाई समाधिस्थ गरिएको दिन फेरि पनि एकपटक उच्च सम्मानकासाथ उनीप्रति श्रद्धा सुमन !

(सुवेदी नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष हुन् ।)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट