नागरिक समूहको साधारणसभा

प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार,
काठमाडौं, २० मंसिर । नागरिक समूह वचत तथा ऋण सहकारी संस्थाको आठौँ साधारणसभा सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालयको प्रतिनिधिहरू नरबहादुर थापा र चण्डिका कोइरालाको उपस्थितिमा सम्पन्न साधारणसभाले दीपककुमार राई ९याक्खा०को अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ ।

८ वर्षअघि स्थापना भएको नागरिक सहकारीको साधारणसभाले उपाध्याक्षमा रीता कार्की बस्नेत र सदस्यहरूमा चन्द्रविक्रम राई, दुर्गा राई, थामाङसिंह याम्फू राई, ज्ञानदेव राई, डिल्लीराम बोहरा, सञ्चकुमारी राई र गोविन्द छन्त्याल छानिएका छन् । त्यसैगरी सहकारीको लेखा समिति नरेन्द्रबहादुर तण्डुकारको संयोजकत्वमा बलराम राई र हरिजन तण्डुकार रहेका छन् । सहकारीले सेयर धनीहरूको मनोबल बढाउने र विश्वास जितेर कार्य गर्नसके आर्थिक क्षेत्रमा देश र समाजलाई योगदान गर्न सकिने नेपाल राष्ट्र बैंकका अधिकृत अशोक राईले बताएका छन् । ‘चनाखो र सतर्क भएर लगानी र व्यवसाय गर्नुपर्छ,’ साधारणसभामा सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि राईले भने, ‘आर्थिक अनुशासन मात्रै कायम गर्न सकियो भने सहकारीले प्रगति गर्न सक्छ ।’ सहकारीको करिब ४७ लाख सेयर पूँजी र निक्षेप करिब ८६ लाख रहेको छ भने चुक्ता पूँजी तथा लगानी करिब १ करोड ३९ लाख रहेको छ ।

देशभर करिब ३० हजारको संख्यामा सहकारीहरू रहे पनि सबै सहकारीले इमानदारीसाथ कार्य नगरिरहेको अध्यक्ष दीपककुमार राईले बताए । ‘नागरिक सहकारीले ठूलो पूँजीको कारोबार गर्न नसके पनि इमानदारीकासाथ सेयर धनीहरूको विश्वास जितेर ऐन र विनियमबमोजिम कार्य गरेको छ,’ अध्यक्ष राईले भने, ‘यो ३ वर्षे कार्यकालमा क्रमशः आर्थिक प्रगति गरेको र सेयर धनीहरूलाई बोनस पनि बाँडिरहेको छ । सेयर धनीहरू समयसमयमा कार्यालयमा आउन र बुझ्नसमेत आग्रह गर्दछु ।’ साधारणसभामा सहकारीको सञ्चालको समितिको तर्फबाट प्रतिवेदन तथा आगामी कार्ययोजना र लेखा समितिको प्रतिवेदन पेस गरिएको थियो भने लेखापरीक्षकको नियुक्तिसमेत गरिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट