आयोग तयार छ ः आयुक्त शर्मा

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
नेपालगन्ज, १६ मंसिर । निर्वाचन आयोगका आयुक्त इला शर्माले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको बताएकी छन् । आयोगद्वारा बिहीबार यहाँ आयोजित ‘निर्वाचन कानुन र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भनिन्, ‘हामीलाई निर्वाचन गराउन कम्तीमा चार महिनाको समय आवश्यक पर्छ र त्यो व्यवस्था भयो भने निर्वाचन गराउनु सकिन्छ ।’

आयुक्त शर्माले निर्वाचनका लागि मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक भए आयोगले निर्वाचन गर्नसक्ने उनले बताइन् । पत्रकारहरुको जिज्ञासामा निर्वाचनले संविधान संशोधनका विषयलाई ओझेलमा नपार्ने बताउँदै उनले संविधान संशोधनको विषय राजनीतिक भएकाले यसमा आयोगको कुनै भूमिका नरहने बताइन् । आयुक्त शर्माको थप भनाइ थियो, ‘आयोगले आफ्नो मर्यादा बिर्सेको छैन, निष्पक्ष, स्वतन्त्र निर्वाचन गराउनु नै आयोगको एकमात्र उद्देश्य रहन्छ ।’ अन्तक्र्रियामा जिल्ला कार्यक्रम व्यवस्थापन समिति, राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट