चितवन घुम्ने पर्यटक बढे

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार
चितवन, १६ मंसिर । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । निकुञ्जका कार्यालयका अनुसार, गत आर्थिक बर्षको पहिलोे ४ महिनाको तुलनामा यस वर्षको सोहि अवधिमा दोब्बरभन्दा बढीले पर्यटक संख्यामा वृद्धि भएको हो ।

गत आर्थिक बर्षको पहिलो चार महिनामा १८ हजार १ सय ३८ जना पर्यटक निकुञ्ज भित्रिएका थिए भने चालु आर्थिक बर्षको सोहि अबधिमा ३८ हजार ६ सय ४ जना पर्यटक भित्रिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार यस वर्षको कात्तिक महिनामा मात्रै १६ हजार २ सय ८६ पर्यटकले निकुञ्ज घुमेका थिए । जसमध्ये नेपाली ४ हजार २ सय ७६, सार्कका १ हजार २ सय ८९ र अन्य मुलुकका १० हजार ७ सय २१ छन् । यस्तै असोजमा १० हजार २ सय ५४, भदौमा ६ हजार ३३ र साउनमा ६ हजार ३१ जनाले निकुञ्ज घुमेका थिए ।

पर्यटकको संख्यामा वृद्धि भएसँगै राजस्वमा समेत वृद्धि भएको छ । चालु आवको चार महिनामा ६ करोड ११ लाख ६ हजार ४ सय ६० राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा २ करोड ४९ लाख ३४ हजार मात्रै राजस्व संकलन भएको थियो । यस वर्षको कात्तिक महिनामा मात्र २ करोड ३५ लाख ७९ हजार ४४ राजस्व संकलन भएको छ । जुन गत आवको चार महिनाको राजस्व बराबर हुन आउँछ ।
त्यसैगरी यस अवको असोजमा १ करोड ५० लाख ४२ हजार ५ सय २८, भदौमा ९६ लाख ५२ हजार ५३ र साउन महिनामा १ करोड २८ लाख ३२ हजार ८ सय ३४ रुपैयाँ राजस्व संकलन भएको निकुञ्जले जनाएको छ ।

पर्यटकको संख्यामा वृद्धि भएसँगै पर्यटन व्यवसायमासमेत सुधार हुँदै आएको छ । दुर्लभ एकसिंगे गैँडा र पाटेबाघ हेर्न, हात्ती सफारी, जिप सफारी, चरा अवलोकन र राप्ती किनारको मनोरम दृश्यावलोकनका लागि पर्यटक यहाँ आउने गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट