डा केसीको समर्थनमा सरकारी चिकित्सक संघ

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १५ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिनको राजिनामालगायत माग राख्दै विगत १८ दिनदेखि अनशनरत प्रा डा गोविन्द केसीलाई सरकारी चिकित्सक संग नेपाल (गोदान) ले समर्थन जनाएको छ ।

गोदानका महासचिव डा विष्णुरथ गिरीले बुध प्रेस विज्ञप्ति जारी गर्दै प्रा डा केसीको अनशन टुंग्याउन २४ घन्टाको अल्टिमेटम दिएको छ । सो समयभित्र दुवै पक्षबीच सहमति नभए सरकारी स्वास्थ्य संस्थामा सेवा उपलब्ध नगराउने विज्ञप्तिमा उल्लेख छ । महासचिव डा. गिरीले २४ घन्टा पछि डा केसीको जीवनरक्षाका लागि गोदानबाट गरिने संघर्षका कार्यक्रममा सक्रिय सहभागिता जनाउन र जटिल परिस्थितिमा सहयोग गर्न आफ्ना सदस्यलगायत आम नागरिकमा आग्रह गरेका छन् । नेपालमा चिकित्सा शिक्षा प्रदान गर्ने अधिकांश संस्थाको स्थापना सरकारी तवरबाट भई जेहेन्दार विद्यार्थीले सर्वसुलभ रूपमा अध्ययन गर्नसक्ने वातावरण बन्नुपर्छ भन्ने लगायतका मागप्रति गोदानले ऐक्यवद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

डा केसीको कदमबाट दुर्गम क्षेत्रमा कार्यरत र काम गर्न कबुल गरेका चिकित्सकलाई थप प्रोत्साहन हुने गरी नीति निर्माण गर्नसमेत बल पुग्ने अपेक्षा गोदानले लिएको विज्ञप्ति भनिएको छ । सरकारले प्रा डा केसीको मागबारे वार्ता गर्न शिक्षा मन्त्रालयका सचिव शान्ताबहादुर श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती सदस्य रहेको वार्ता समिति गठन गरेको छ । समितिले ४ पटकसम्म वार्ता गर्दा पनि दुबै पक्षबीच सहमति हुन सकेको छैन ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट