बालमैत्री नगर कार्यान्वयनमा आंका

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
नेपालगन्ज, १५ मंसिर । नेपालगन्ज उपमहानगरपालिकालाई बालमैत्री नगरपालिका बनाउने अभियान प्रारम्भ गरिए पनि तथ्यांक अद्यावधिक नहुँदा कार्यान्वयनमा आंका पैदा भएको छ । बाँके जिल्लालाई बालश्रमिक मुक्त जिल्ला घोषणा गरिए पनि करिब ३ हजारभन्दा बढी बालबालिका अहिले पनि उपमहानगरपालिकामा बाल श्रमिकका रूपमा कार्यरत रहेको पाइएकाले सो अभियानले मूर्तरूप लिन कठिन भएको हो ।

नौ वर्ष अघि (सन् २००७ नोभेम्बर २० मा) जिल्ला बाल कल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिक मुक्त जिल्ला’ घोषणा गरे पनि अझै अधिक सङ्ख्याका बालबालिका श्रममा लागेकाले सम्बद्ध निकायको काम गर्ने शैलीप्रति यहाँ प्रश्न उठ्न थालेको छ । कुल २८ वडा रहेको यस नगरपालिकालाई आगामी सन् २०१७ सम्म बालमैत्री नगर घोषणा गर्न ३९ वटा सूचक तयार गरी कार्यक्रम सञ्चालनमा ल्याइए पनि कार्यान्वयनमा आएको शिथलताले निर्धारित समयमा बालमैत्री नगर घोषणा हुनेमा आशङ्का व्यक्त गरिएको हो । ‘सात वर्षसम्म जिल्लाका बालश्रमिकको तथ्याङ्क अद्यावधिक गर्न सकिएको छैन, यस्तो अवस्थामा कसरी यस नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न सकिन्छ ?’, नगरस्तरीय बाल क्लबका अध्यक्ष साहिल अन्सारीको प्रश्न छ ।

७ वर्ष पुरानो सो तथ्यांकअनुसार, बाँके जिल्लामा हाल ९ वर्षमुनिका ५ प्रतिशत, १० देखि १४ वर्षका ६० प्रतिशत र १४ देखि १७ वर्षका ४० प्रतिशतभन्दा बढी बालबालिका बालश्रमिकका रूपमा कार्यरत छन् । समितिको बैठक छिट्टै बस्ने र जिल्लामा बालश्रमिकको अवस्थाका विषयमा अनुगमन गरेर तथ्यांक अद्यावधिक गरिने प्रक्रिया अगाडि बढाइएको बाँकेका प्रमुखजिल्ला अधिकारी एवं समितिका संयोजक रविलाल पन्थको भनाइ छ ।‘हामीले बालमैत्री नगरपालिका घोषणा गर्न सबैको सहयोग खोजेका छौँ, नगरपालिका एक्लैले मात्र गर्न सक्ने विषय यो होइन, हामीले त अगुवाइ मात्र गर्ने हो, यो सबैको साझा सवाल बन्नुपर्छ’, गरपालिकाअन्तर्गतको सामाजिक विकास केन्द्रका प्रमुख कृष्ण जोशी बताउँछन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट