आविष्कार केन्द्रलाई ५ दिनको तलब

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
म्याग्दी, १५ मंसिर । सामाजिक अभियन्ता महावीर पुनले सुरू गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ अभियानमा म्याग्दीका शिक्षकले ५ दिनको तलब बराबरको रकम सहयोग गर्ने घोषणा गरेका छन् ।

आदर्श मावि रिम स्रोतकेन्द्रअन्तर्गत १० वटा विद्यालयका ९२ जना शिक्षक–कर्मचारीले ५ दिन बराबरको तलब केन्द्रलाई सहयोग गर्ने निर्णय गरेका आदर्श मावि रिमाका प्रधानाध्यापक कुमार गर्बुजाले बताए । ‘स्रोत केन्द्रअन्तर्गत धेरै विद्यालयमा महावीरकै प्रयासमा सूचना र प्रविधिको विस्तार गरिएको छ । हामीले केन्द्र स्थापनामा भविष्यमा समेत सहयोगको प्रतिबद्धता जनाएका छौँ’, गर्बुजाले भने । प्रअ गर्बुजाका अनुसार शिक्षकले आफ्नो गाँस कटाएर आविष्कार केन्द्रलाई सहयोग गरेका हुन् ।

स्रोतकेन्द्रमा भएको प्रधानाध्यापकको बैठकमा सं्रोतव्यक्ति भरतकुमार पुनको संयोजकत्वममा आर्थिक संकलन अभियानलाई प्रभावकारी बनाउन ११ सदस्यीय समिति समेत बनाइएको छ । विद्यालयका कर्मचारीदेखि प्रधानाध्यापकसम्म ५ दिनको तलब र इच्छाअनुसार त्यसभन्दा धेरै सहयोग गर्न सक्ने स्रोतव्यक्ति पुनले बताए । ‘अन्य विद्यालयका शिक्षकहरूबाट समेत सहयोगका लागि इच्छा व्यक्त भएको छ’, उनले भने । आदर्श माविअन्तर्गत १० वटा विद्यालयमा ९२ जना शिक्षक कार्यरत छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट