देश निर्वाचनतर्फ अघि बढ्यो ः प्रधानमन्त्री

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, १५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका–संसद्मा संविधान संशोधनसम्बन्धी मस्यौदा दर्ता भएसँगै देश अब निर्वाचनतर्फ अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले देश निर्वाचनतर्फ अघि बढेको बताएका हुन् । ‘हिमाल, पहाड र तराईबीच सुदृढ एकता सरकारको प्राथमिकता हो ।

अहिले दर्ता भएको संशोधन प्रस्तावले राष्ट्रिय एकताको प्रतिनिधित्व गरेको छ । हामीले राष्ट्रको अहित हुने कुरा कल्पना पनि गर्न सक्दैनौँ’, प्रधानमन्त्रीले भने । प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विरोध गर्नु राष्ट्रिय एकताविरोधी कुरा भएको उल्लेख गर्दै संशोधन प्रस्ताव दर्ता भएपछि पनि सहमतिको प्रयास जारी राख्ने बताए । ‘प्रमुख प्रतिपक्षी एमाले पनि संशोधनको पक्षमा आउँछ, त्यसका लागि सरकारले सहमतिको प्रयास जारी राख्छ’, प्रधानमन्त्री दाहालले भने ।

संघका अध्यक्ष अमृता थापामगरको नेतृत्वमा गएको महिला नेतृको टोलीले संवैधानिक प्रावधानबमोजिम राज्यका निकायमा महिलाको उचित प्रतिनिधित्वका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट