गोेरखकाली टायर ब्युँताइँदै

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
काठमाडौं, ११ मंसिर । स्वेदशमै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदारहँदै टायरका लागि मुलुकबाट बर्सेनि ठूलो रकम बिदेसिने गरेको छ । सवारी साधनको वृद्धिसँगै मुलुकको टायरको बजार पनि विस्तारित भइरहेको छ । स्वदेशमा सवारी साधन उत्पादन हुँदैन । त्यसका लागि आवश्यक पर्ने अन्य पार्टपुर्जा आयात गर्नुपर्ने बाध्यता पनि छँदै छ ।

नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आर्थिक वर्ष ०७२÷७३ मा ४ अर्ब १६ करोड ३४ लाख १९ हजार बराबरका टायर नेपाल भित्रिए । अघिल्लो आवमा २३ करोड २९ लाख ४३ हजारभन्दा बढीको टायर नेपाल आयात भएको थियो ।
नेपालमा सबैभन्दा बढी भारतीय टायर प्रयोग हुने गरेको छ । गत आवमा भारतबाट मात्रै ३ अर्ब ५७ करोड ९ लाख २८ हजार बराबरको टायर आयात भएको केन्द्रले जनाएको छ ।

भारतपछि ब्राजिल, इजिप्ट, टर्की, थाइल्यान्ड, चीन र जापानमा निर्मित टायर भित्रन्छन् । नेपाली टायर बजारमा पनि भारतकै वर्चस्व छ ।
नेपालमा एमआरएफ (मद्रास टायर फ्याक्ट), गुड इयर टायर, एपोलो, जेके, सिटजस्ता भारती टायर नेपाल भित्रिने गरेका छन् । त्यसैगरी, जिसिबी टायर पनि नेपालमा रामै बिक्री हन्छ । मुलुकमा अधिकांश भारतीय टायर प्रयोग हुने गरेको केन्द्रका निर्देशक सुयश खनालको भनाइ छ । उनका अनुसार अन्य मुलुकको तुलनामा सवारी साधनमा प्रयोग हुने सामग्री भारतकै हुने गरेकोे छ ।

नेपालमा गुड्ने सवारी साधनका लागि आवश्यक पर्ने टायर स्वदेशमै उत्पादन गर्ने उद्देश्यका साथ २०४१ जेठमा गोरखाको मजुवा देउरालीमा स्थापना भएको एक मात्र टायर उद्योग २०७२ फागुन मसान्तदेखि ठप्प छ । केही वर्षअघिसम्म जेनतेन चलेको यो उद्योगले आव ०७१÷७२ मा यो उद्योगले ५ हजार ६ सय ७० टायर उत्पादन गरेको थियो, जुन उत्पादन क्षमताको ५ प्रतिशत मात्र हो । चालु पुँजीको अभाव, न्यून उत्पादन क्षमताको उपयोग, पुराना मेसिन, दक्ष जनशक्तिको अभाव, न्यून बजार हिस्सा, चोरी तथा न्यून मूल्यांकन, चर्को व्याज तथा व्ययभार र सरकारी संरक्षणको अभाव जस्ता कारण यो उद्योग बन्द भएको सरकारको निष्कर्ष छ ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकारको ठूलो लगानी रहेको गोरखकाली रबर उद्योग सञ्चालन गर्ने प्रण गर्दै त्यसलाई अभियानका रूपमा अगाडि बढाउने भएका छन् । सरकारको सेयर तथा ऋण लगानी रहेको यस उद्योग सञ्चालनका लागि सार्वजनिक–निजी साझेदारी(पिपिपी) मोडल अपनाउन लागिएको छ । मन्त्री जोशीले मन्त्रालय सम्हालेसँगै यस अभियान तीव्र गतिमा अगाडि बढेको र उद्योग मन्त्रालयको निजीकरण इकाइमार्फत अर्थमन्त्रालयमा लेखी पठाइएको उपसचिव दुर्गाप्रसाद पराजुलीले जानकारी दिए ।

व्यापारिक सिलसिलामा कानुनी तथा व्यावहारिक रूपमा थुप्रै गुनासा आउने गरेको भए पनि टायर व्यापारमा खासै समस्या नभएको व्यापारीको भनाइ छ । उनीहरूका अनुसार भारत तथा तेस्रो मुलुकबाट टायर आयात गर्न सहज छ । सरकारले तोकेको राजस्व मापदण्डअनुसार व्यापार गर्न खासै समस्या नभएको विन्देश्वरी टायर एन्ड ट्रेड, ढुंगेधाराका सञ्चालक यज्ञेश्वर पोखरेलको अनुभव छ । उनले भने, ‘व्यापारमा नीतिगत समस्या छैन ।’ पोखरेलले विगत १६ वर्षदेखि बस, ट्रक, मिनीबस एवं मोटरसाइकल तथा साइकलको टायर बिक्री गर्दैै आएका छन् । आन्तरिक रूपमै उत्पादन गर्न सकिए त्यसले राज्यको अर्बौं रकम बिदेसिनबाट जोगिने उनको धारणा छ ।

त्यस्तै धारणा राख्छन्, आइएमई ग्रुपका व्यापार प्रवन्धक सागरमान श्रेष्ठ । श्रेष्ठले पनि विगत लामो समयदेखि विभिन्न किसिमका अटोमोबिल्स एवं टायरको व्यापार गर्दै आएका छन् । प्रणाम इन्टरनेसनलका सञ्चालक केदार रिजालले भने, ‘टायरको गुणस्तर कायम नहुँदा बजारमा केही समस्या छ ।’ उनका अनुसार खरिद ऐनले टायरको गुणस्तर नतोकिँदा कमसल टायरले गुणस्तरीय टायरलाई उछिनिरहेको छ । रिजालले विगत १० वर्षदेखि ब्राजिल, टर्की र इजिप्टबाट टायर आयात गरेर नेपाली बजारमा बिक्री गर्दै आएका छन् । ट्रक, जीप एवं डोजरजस्ता ठूला मेसिनमा लाग्ने टायरको व्यापारमा उनी संलग्न छन् । केन्द्रका अनुसार आव ०७२÷७३ मा १ खर्ब ३३ अर्ब २६ करोड ११ लाख १५ हजार बराबर मूल्यका सवारी साधन भित्रिएका छन् । टायरको व्यापार बढ्नुको कारण सवारी साधनको प्रयोगमा आएको वृद्धि नै हो ।
यसमध्ये ६६ अर्ब ६३ करोड ५ लाख ५७ हजार बराबरको मालबाहक सवारी साधन, २५ अर्ब ६५ करोड ९९ लाख ५९ हजार बराबरको मोटर, बस र ट्रक, १५ अर्ब ३७ करोड ६५ लाख ४९ हजारको मोटरसाइकल र २५ अर्ब ५९ करोड ४० लाख ५० हजार बराबरको अन्य सवारी साधन आयात भएका छन् ।

यो तथ्यांक अघिल्लो आवको तुलनामा क्रमशः ३४ दशमलव ९, ४० दशमलव ६, ३४ दशमलव ५ र २९ दशमलव ९ प्रतिशतले बढी हो । गत आवमा भारतबाट मात्रै २१ अर्ब ७६ करोड ९७ लाख ९५ हजार बराबरका १ लाख ८६ हजार ३ सय ५२ मोटर कार, बस एवं ट्रक भित्रिएका थिए । जापानबाट १ अर्ब ६७ करोड १६ लाख १४ हजार बराबरका ७ सय ४२ सवारी साधन आयात भएका छन् ।
त्यसैगरी, सोही आवमा १५ अर्ब ३७ करोड ६५ लाख ४९ हजार बराबरको ३ लाख ८७ हजार ८ सय ३० वटा मोटर साइकल आयात भएका छन् । त्यसमा भारतीय उत्पादनको हिस्सा ९५ प्रतिशत जति छ । अघिल्लो आवमा भारतबाट मात्रै १५ अर्ब ६ करोड १४ लाख ५६ हजार मूल्य बराबरका ३ लाख ८४ हजार १ सय ८४ मोटरसाइकल आयात भएको प्रवद्र्धन केन्द्रको तथ्यांकले देखाउँछ । सवारी साधनको आयात बढेसँगै टायरको व्यापार पनि विस्तार भएको केन्द्रका निर्देशक खनाल बताउँछन् ।

लाखौँको संख्याका सवारी साधन धान्न सक्ने सडक विस्तार नहुँदा भने यात्रु तथा सवारी चालक मर्कामा पर्दै आएका छन् । भएका सडकको पनि राम्रोसँग स्तरोन्नति हुन नसक्दा दुर्घटनाको जोखिम बढेको छ । विगत १० वर्षदेखि मिनीबस चलाउँदै आएका श्रीकृष्ण पौडेलका अनुसार चक्रपथभित्रका सडक पनि ‘भेहिकल फ्रेड्ली’ छैन । उनी भन्छन्, ‘कतिखेर टायर पन्चर हुने हो पत्तै हुँदैन । टायर बिक्रेताले पनि कमसल टायर भित्र्याउने गरेकाले हामी प्रयोगकर्ता मर्कामा पर्ने गरेका छौँ ।’


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट