योजना अलपत्र छाडेर संस्था भाग्यो

प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार
इलाम, ११ मंसिर । रु साठी लाख खर्चेर बनाइएको खानेपानी योजना सञ्चालन नभएपछि पूर्वी समालवुङका १ सय ७० परिवारलाई यतिबेला खानेपानीको चर्को समस्या भएको छ ।

०६४ सालबाट निर्माण सुरू भएको छाँगेलामा खानेपानी तथा सरसफाइ योजनामा कमसल गुणस्तरको पाइप खरिद गरी प्रयोग गर्दा पानी सञ्चालन नभएको र सेवा प्रदायक संस्थाले अलपत्र अवस्थामा योजना छाडेको पाइएको छ । फण्डबोर्डमार्फत राजधानीको छिमेक सेवा संस्थाले निर्माण सुरू गरेको आयोजनामा उपभोक्ताबाट घरलौरी १ हजार २ सय र गाविसको ५० हजार रुपैयाँ सहयोग लिइएको थियो । तर, योजनामा कम गुणस्तरका सामान प्रयोग गरी पानी सञ्चालन नगरी छिमेक सेवा संस्थाका प्रतिनिधि गायब भएका छन् ।

खानेपानीको लागि घरबाट महिना दिनसम्म श्रम दिएको स्थानीयबासिन्दाले बताए । पाइपलाइन विस्तार भएपछि पनि प्राविधिक त्रुटिका कारण पानी सञ्चालन नभएपछि बनाइएका संरचना अलपत्र अवस्थामा छाडेर प्राविधिक भागेका हुन् । आयोजना निर्माण समितिका अध्यक्ष फूर्वा घिसिङले आयोजना लथालिङ बनेपछि उपभोक्ताका घरघरमा पाइप र निर्माण सामग्री चोरी भएको जानकारी दिए ।
आयोजनाले ३४ वटा धारा निर्माण गर्नुुपर्नेमा १४ वटा मात्र निर्माण गरेको र पानी जम्मा गर्ने तीनमध्ये २ वटा ट्याङ्की निर्माण सम्पन्न भएर अलपत्र अवस्थामा छन् । योजना अलपत्र परेपछि मुल सडक खन्दा डोजरले पाइपलाइन नै क्षतविक्षत बनाइदिएको र अन्य निर्माण सामग्री चोरी भएको सचिव कृष्ण तामाङले बताए ।

करिब ७ किलोमिटर टाढाको मुहानबाट खानेपानी नआएपछि समालबुङका २, ३ र ४ नं वडाका बासिन्दालाई खानेपानीको समस्या भएको छ। यहाँको शान्तिबजार, गैरीगाउँलगायत क्षेत्रमा सुक्खायाममा खानेपानीको अभाव हुने गरेको छ । आयोजनामा फलामको पाइप लगाउनुपर्ने स्थानमा प्लास्टिकको पाइप लगाइएको र सर्भे गलत स्थानबाट भएपछि आयोजना सञ्चालन हुन नसकेको हो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट