साठी प्रतिशत घरैमा सुत्केरी

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, १४ मंसिर । घरमै सुत्केरी हुने समस्याका कारण अझ पनि मातृशिशु मृत्युदरमा कमी आउन सकेको छैन । धादिङ, भोजपुर र सिन्धुपाल्चोकमा मातृ, नवजातशिशु, तथा एक वर्षमुनिका बच्चाको मृत्युदर र त्यसका कारणका बारेमा गरिएको अध्ययनमा शिशु जन्मदा सास फेर्न कठिनाइ २४ दशमलव ९५, संक्रमण २२ दशमलव २५, निमोनिया १० दशमलव ३५ र कमतौल ४ दशमलव ५५ प्रतिशत मृत्यु हुने गरेको पाइएको छ ।

मृत्यु भएका शिशु धादिङमा स्वास्थ्य संस्थामा जन्मिएका र घरमा जन्मिएका प्रतिशत बराबर भए पनि सिन्धुपलान्चोकमा ६० दशमलव ३५ र भोजपुरमा ७७ दशमलव ४५ प्रतिशत घरैमा जन्मिएका थिए । प्रसूतिपछिको रक्तस्राव, उच्च रक्तचाप र सङ्क्रमणका कारण आमाको मृत्यु हुने गरेको अध्ययनले देखाएको छ ।

ती जिल्लामा मृत्यु भएका आमा २६ दशमलव ३५ प्रतिशत रक्तस्राब र २६ दशमलव ३५ प्रतिशत उच्च रक्तचापबाट पीडित थिए । सन् २०१३, २०१४ र २०१५ मा आमा तथा एक वर्षमुनिका शिशुमा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा जनस्वास्थ्य तथा सरुवा रोग अनुसन्धान केन्द्रले अध्ययन गरेको थियो ।

सन् २०१५ मा नवजात शिुशु मृत्युदर प्रति एक हजारमा धादिङमा १ सय २६, सिन्धुपाल्चोकमा १ सय ४४ र भोजपुरमा २ सय २२ जना रहेको पाइएको छ । त्यसैगरी एक वर्षमुनिका बच्चाको मृत्युदर प्रति एक हजार जीवित जन्ममा धादिङमा १ सय ७४, सिन्धुपाल्चोकमा २ सय ११ र भोजपुरमा २ सय ९३ जनाको मृत्यु भएको थियो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले शिशु जन्मँदा सास फेर्न कठिनाइ, संक्रमण, निमोनिया, बच्चालाई न्यानोे पारी राख्ने जस्ता व्यवस्थापन सेवा स्वास्थ्य संस्थामा सुदृढ गर्न जरुरी भएको बताए ।

त्यस्तो मृत्युमध्ये अधिकांश संक्रमणका कारण हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार नेपालमा प्रत्येक २ घन्टामा ३ नवजात शिशुको मृत्यु हुन्छ । हरेक ५ वर्षमा गरिने जनसंख्या सर्भेक्षणानुसार नेपालमा ३३ प्रतिशत रहेको नवजात शिशु मृत्युदरलाई १६ प्रतिशतमा झार्ने लक्ष्य लिइएको भए पनि अहिले २३ मा मात्र झार्न सकिएको छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट